09/03/2025, 12:41:34
बुधबार, भदौ १८, २०८२

लुम्बिनी प्रदेशको मन्त्रालय भवन निर्माण अन्तिम चरणमा


घोराही, भदौ १८ : लुम्बिनी प्रदेशको राजधानी देउखुरीको लालमटियामा भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुख्यमन्त्री कार्यालयसहित १० वटा निर्माणाधीन मन्त्रालयको भौतिक प्रगति ८५ प्रतिशत सकिएको छ ।

प्रदेश सरकारको गुरुयोजना अनुसार मण्डला आकारमा आकर्षक शैलीमा प्रशासनिक केन्द्र निर्माण गरेको छ । प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइका प्रमुख इन्जिनियर प्रदीप भट्टराईले मुख्यमन्त्री कार्यालय र अन्य नौ वटा मन्त्रालयको ८५ प्रतिशत निर्माणको काम सकिएको जानकारी दिनुभयो । कार्यालय प्रमुख इन्जिनियर भट्टराईका अनुसार प्रदेशको आफ्नै खर्चमा निर्माण भइरहेका आधुनिक भवनसहितको संरचना अन्तिम चरणमा पुगेको छ ।

निर्माणाधीन मुख्यमन्त्रीको कार्यालय छ तला र अन्य मन्त्रालय पाँच तलाका रहेका छन् । जसमा अपाङ्गतामैत्री, लिफ्टसहित अन्डरग्राउन्ड पार्किङको सुविधा रहेको आयोजनाले जनाएको छ । भौतिक संरचना निर्माणको काम सकेर अहिले फिनिसिङ अन्तर्गत नवनिर्मित भवनमा रङरोगनसँगै विद्युत्, खानेपानी, एसीलगायत जडानको काम भइरहेको छ । कार्यालय प्रमुख भट्टराईले भवनको बाहिरी क्षेत्र अन्तर्गत सडक विस्तार, ढल निकास, नाली, फुटपाथ निर्माणसँगै सरसफाइको काम भइरहेको बताउनुभयो ।

राजधानी क्षेत्रको १७ बिघा १९ कट्ठा चार धुर क्षेत्रफलमा निर्माण भइरहेका संरचनाको काम अन्तिम चरणमा पुगेको भन्दै भट्टराईले भन्नुभयो, “मुख्यमन्त्री कार्यालयसहितका मन्त्रालयको मुख्य निर्माणको काम सकिएको छ । अब फिनिसिङको काम भइरहेको छ । सम्झौता अनुसार आगामी पुस २८ गतेसम्म काम सक्ने गरी निर्माण भइरहेको छ ।” २०८२ पुस २८ गतेसम्म राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माण गरिसक्ने गरी २०७९ मङ्सिर २८ गते शर्मा सगुन जेभी काठमाडौँसँग मूल्य अभिवृद्धि करबाहेक तीन अर्ब नौ करोड एक लाख २९ हजारमा ठेक्का सम्झौता भएको थियो ।

राजधानीका लागि भौतिक संरचना निर्माणमा हालसम्म ६७ प्रतिशत अर्थात् करिब दुई अर्ब सात करोड तीन लाख रुपियाँ खर्च भइसकेको छ । सम्झौता भएको करिब दुई महिनापछि फागुन महिनाबाट राजधानीका लागि आवश्यक भौतिक संरचना निर्माणको काम सुरु भएको थियो । कार्यालय प्रमुख भट्टराईले ठेक्का सम्झौता अनुसार अझै करिब चार महिनाको समय बाँकी रहेको र मुख्य काम भइसकेकाले सम्झौता मितिमै काम सकिनेमा विश्वस्त रहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालयको भवन निर्माण सकिएपछि मन्त्रालय लगायतका अन्य शाखा व्यवस्थापन सहज हुने छ । पर्याप्त संरचना नहुँदा अहिले पनि उद्योग, पर्यटन तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको भवन, स्वास्थ्य मन्त्रालय राप्ती गाउँपालिका–५, सिसहनियास्थित वडा कार्यालय र कृषि, भूमि तथा सहकारी मन्त्रालय राप्ती गाउँपालिका–१, भालुवाङस्थित वडा कार्यालयबाट सञ्चालन भइरहेका छन् ।

अस्थायी राजधानी बुटवलबाट २०७९ मङ्सिरमा प्रदेशको स्थायी राजधानी दाङमा सारिएपछि राप्ती उपत्यका अन्तर्गत लालमटियास्थित तत्कालीन राप्ती प्राविधिक शिक्षालयको भवनलाई व्यवस्थापन गरेर सञ्चालन गरिँदै आएको छ । २०७७ असोज २० गते बुटवलमा बसेको प्रदेश सभा बैठकले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नं १, २ र ३ तथा अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नं. ८ र ९ लाई केन्द्र मानेर तोकेको थियो ।

– लीलाधर वली