08/26/2025, 01:10:50

विजय बरालको मुख्य भूमिकामा ‘जिरो डिग्री’ निर्माण घोषणा, सजन र आकाशले निर्देशन गर्ने


काठमाडौँ, भदौ ९ : गत वर्षको दशैंको घटस्थापनामा प्रदर्शनमा आएको सिनेमा ‘बेहुली फ्रम मेघौली’का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ सिनेमा ‘जिरो डिग्री’ निर्माण घोषणा गरेका छन् । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै यो सिनेमाको घोषणा गरिएको हो ।

मेघौली फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा राजन भुसालले लेखेका हुन् । पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका हुन् । ‘जिरो डिग्री’को कथा सडक नभएको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी नआइपुगुन्जेलसम्म शव जोगाउन डीप फ्रिज बोकेरै गाउँमा भित्राएपछि सिर्जना हुने उथलपुथलमा केन्द्रित छ ।

यो सिनेमा एउटा फ्रिज गाउँसम्म पु¥याउने प्रसङ्ग मात्र नभएर लाइट कमेडी कथा पनि रहेको निर्देशकले बताए । सिनेमामा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन् । ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले तयार पारेको पोस्टरको मध्य भागमा डीप फ्रिज देखिन्छ । जसलाई केही मानिसहरूले बोकेर खोला तारिरहेका छन् ।

सामान्यतया सिनेमाको पोस्टरमा कलाकारको अनुहार वा ठुलो दृश्य रहने परम्परालाई तोड्दै कथावस्तुलाई केन्द्रमा राखिएको छ । सिनेमाका कार्यकारी निर्माता मोती कार्की हुन् । यो सिनेमाको छायांकन तिहारपछि सुरु हुनेछ । आगामी वर्ष प्रदर्शन गर्ने योजना छ । यो सिनेमाको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ ।

सिनेमाका गीतहरूमा अंकित बाबु अधिकारीले संगीत दिनेछन् । यो वर्षको सुपरहिट सिनेमा ‘ऊनको स्वीटर’को चर्चित गीत ‘काफ्ले’का रचनाकार युवराज काफ्लेले गीत लेख्नेछन् ।