फुङलिङ, साउन ३० : अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्ड कपको उपाधिका लागि चर्च ब्वाइज र सहलेश प्रतिस्पर्धा गर्ने भएका छन् । शनिबार हुने फाइनल खेलमा चर्च ब्वाइज क्लब ललितपुर र सहलेश युवा क्लब सिराहाबिच प्रतिस्पर्धा हुने भएको हो ।
लाखेजात्रा सञ्चालन समितिको आयोजना सञ्चालन भएको ताप्लेजुङ गोल्ड कपमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा सुनसरीको द योङ ब्रदर्श फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको ७७ औँ मिनेटमा चर्च ब्वाइजले आत्मघाती गोल गर्दा सुनसरीले खेलमा सुरुवाती अग्रता लिएको थियो । तर सुनसरीले निर्धारित समयको अन्त्यपछि अतिरिक्त समयमा सम्हालिन नसक्दा हार ब्यहोर्न बाध्य भएको थियो ।
खेलको ९३ औँ मिनेटमा सुनसरीका खेलाडीले फल गरेपछि पाएको फ्रिकिकमार्फत चर्च ब्वाइजका सुमन श्रेष्ठले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याउनुभएको थियो । त्यसपछि भएको ट्राइबेकरमा सुनसरीका निरोज खड्काले प्रहार गर्नुभएको बलले मात्र जाली चुमेको थियो । विशाल तामाङ, निवास पौडेल र युगन राईको प्रहार खेर गएको थियो ।
उता चर्च ब्वाइजका सुमन श्रेष्ठ ,रोशन पहाडी, युवराज ढकाल गोल गर्न सफल हुँदा नवयुग श्रेष्ठ भने चुक्नु भएपनि ३–१ जित हात पार्दै उपाधि भिडन्तको लागि ललितपुरले सिट सुनिश्चित गरेको हो ।
यस्तै, बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा सलहेशले रेड स्टार क्लब झापालाई २–० गोल अन्तर पराजित गर्दै उपाधिका लागि चर्च ब्वाइजसँग भेट पक्का गरेको हो । खेलको १३ औं मिनेटमा सहलेशका युसुफ मलिकले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । यस्तै खेलको ४८ औं मिनेटमा फेरी सहलेशका युसुफले नै दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाउनुभएको हो ।
यस अघि पाथिभरा गोल्ड कपको नामले सञ्चालन भएको पहिलो संस्करणको उपाधि चुमिसकेको चर्च ब्वाइज यो पटकको उपाधि आफ्नो पोल्टामा पर्ने दाउमा छ । यस्तै ताप्लेजुङ गोल्ड कपको दोस्रो संस्करणमा उपविजेतामा चित्त बुझाउन बाध्य सहलेश यो पटक उपाधिका लागि अघि बढ्ने रणनीतिमा रहेको छ ।
लाखेजात्रा सञ्चालन समितिको कार्यालयमा शुक्रबार भएको पत्रकार सम्मेलनमा उपाधिका लागि आफूहरू तयार रहेको दुबै टिमका टिम क्याप्टेन र प्रशिक्षकले बताएका छन् । दुई टिमा राष्ट्र खेलाडी र ए डिभिजनका खेलाडीहरू समावेश भएको पनि जानकारी दिएका छन् ।
लाखेजात्रा पर्वको अवसरमा सञ्चालन गरिएको गोल्डकपको विजेताले नगद सात लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलको सर्वोत्कृष्ट खेलाडीले बाइक प्राप्त गर्दा विभिन्न विधाका उत्कृष्ट खेलाडीले नगद पुरस्कार प्राप्त गर्ने छन् ।