07/26/2025, 14:41:28

चार मन्त्रीको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री लामाद्वारा पदमुक्त


मकवानपुर, ९ साउन : बागमती प्रदेशका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत नगरी मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उनीहरुलाई पदमुक्त गरेका छन् ।

मुख्यमन्त्री लामाले नेपालको संविधान २०७२ को धारा १६९ (२) (ख) अनुसार चार मन्त्रीलाई पदमुक्त गरेका हुन् । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुदमन्त्री मिनकृष्ण महर्जन, संस्कृति तथा पर्यटनमन्त्री बिमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठले शुक्रबार दिउँसो राजीनामा दिएका थिए ।

संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्रीमा इन्द्रबहादुर बानियाँलाई नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेसबाट मन्त्री भएका ४ जनाले राजीनामा दिएका हुन् । कांग्रेस २१ सांसदले लामाविरुद्ध हस्ताक्षर गरी संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । यसका लागि ३७ जना सांसद रहेको कांग्रेस संसदीय दलमा २१ जनाले हस्ताक्षरसमेत गरिसकेका छन् ।