वीरगञ्ज (पर्सा), ९ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले देश चौतर्फी रूपमा विकासको गतिमा अगाडि बढिरहेको बताउनुभएको छ । बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले विगत १० वर्षमा मुलुकमा धेरै खालका विकास र पूर्वाधार निर्माणको काम भएको बताउनुभएको हो ।
“आज देश चौतर्फी रूपमा अगाडि बढिरहेको छ । पछिल्लो समय भवन, सडक, पुल लगायतका संरचना निर्माण द्रूत गतिमा भइरहेका छन्”, उहाँले भन्नुभयो, “पछिल्लो समय मुलुक विद्युतीकरण, सञ्चार, कृषि पूर्वाधारका निम्ति तयार पारिएका सिँचाइ आयोजनाका पनि धेरै खालका पूर्वाधार तयार भइसकेका छन् । खानेपानीको आयोजनाको सन्दर्भमा मुलुकभरका जनताको घरदैलोमा धारा निर्माणका काम भइरहेका छन् । यसका अलवा र शिक्षा, स्वास्थ्य र अन्य विविध क्षेत्रसहित अनेक–अनेक क्षेत्रमा अभूतपूर्व गतिमा विकास निर्माणको काम भइरहेको छ ।”
प्रधानमन्त्री ओलीले पछिल्लो एक वर्षमा मुलुकमा सडक, पुल र भवन निर्माण चौतर्फी गतिमा भइरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “केही दिन अघि मात्रै म हुम्ला गएर बे्रलिब्रिज राखेर हुल्लाको सदरमुकाम जोड्ने सडकको उद्घाटन गरेर आए । अब मुलुकको ७७ वटै सदरमुकाम सडक सञ्जालले जोडिसकेको छ ।” सरकारले विकास निर्माणसँग सम्बन्धित नीतिकै कारणले पछिल्लो समय विकास निर्माणमा धेरै फड्को मार्न सफल भएको उहाँले दाबी गर्नुभयो ।
“म पहिलो पटक प्रधानमन्त्री हुने वित्तिकै हुलाकी राजमार्गलाई तराई–मधेसको दक्षिण हुँदै मेची महाकाली पुग्न योजना अघि सारेको थिए । तर,अहिले हुलाकीराजमार्ग लगभग निर्माण सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “हुलाकी राजमार्गअन्तर्गत एक सयभन्दा धेरै राम्रा पुल बनेका छन् । बाटो पनि तयार पारेर यहाँका जनतालाई यातायातको सहज पहुँचको व्यवस्था भइसकेको छ ।”
प्रधानमन्त्री ओलीले हुलाकी राजमार्गअन्र्तगत केही माटो परीक्षण र डिजाइनको त्रुटीको कारणले जनताले सास्ती भोग्नुपरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हुलाकी राजमार्गका केहीकेही पुल माटो परीक्षणको कारणले होस् यहाँ डिजाइनको त्रुटीको कारणले होस् केही–केही ठाउँमा पुलमा समस्या देखिएको छ । जनकपुर र सिरहाको बीचमा पर्ने बनिसकेको पुल पनि भासिएको छ । यस्ता दुखद कुराहरू केही ठाउँमा आएका छन् । यदि माटोको भूपरीक्षण गर्ने बेला उपयुक्त ढङ्गले गर्नुपर्ने हुन्थ्यो । सो नहुँदा त्यहाँको पुल भासिन गर्यो ।” प्रधानमन्त्री ओलीले विगतका कमीकमजोरीबाट सिकेर आगामी दिनमा पुल र सडक बनाउँदा सावधानी अपनाउनका लागि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
“विगतमा माटो परीक्षण र पुलको डिजाइन उपयुक्त ढङ्गले हुनुपर्ने हुन्थ्यो । सो हुन नसक्दा जनताले दुःख र सास्ती पाउन परिरहेको छ । सो नहुँदा सो समस्या आएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा इञ्जिनियर र ठेकेदार दुवै विशेष ध्यान दिन जरुरी छ ।” प्रधानमन्त्री ओलीले हुलाकी राजमार्ग कुनै ठाउँमा निकुञ्जको कारणले पनि निर्माणको काम अधुरै रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले फरक प्रसङ्गमा सरकारले बारा जिल्लालाई माछा पालनको सुपरजोन क्षेत्रमा घोषणा गर ेपनि यहाँको कृषकहरूको आम्दानीमा बढोत्तरी भएको बताउनुभयो । “बारालाई माछापालनको सुपरजोनको रूपमा घोषणा गरेपछि यहाँका कृषकको आम्दानी दुई गुणा होइन् चार गुणाभन्दा धेरै बढ्नुपर्छ भन्नेतर्फ ध्यान दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “अब आधुनिक ढङ्गले माछाको पालना गर्नुपर्ने हुन्छ । अहिले झण्डै नेपालमा आवश्यकता पर्ने माछाको परिपूर्ति गर्ने अवस्थामा आइपुगेका छौँ ।”
प्रधानमन्त्री ओलीले सरकारले विभिन्न ठाउँमा भएको उत्पादन अनुसारको सुपरजोन घोषणा गर्दै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कृषिलाई आधुनिकतातर्फ लग्दै आइरहेका छौँ । पछिल्लो १० वर्षमा कृषिमा आधुनिकरण ह्वातै बढेको छ । अहिले कतै केराको सुपरजोस, कतै धान, मकै, गहँँुको सुपरजोन, कतै आलुको सुपर जोन भइरहेका छन् । त्यति मात्रै होइन, कतै कतै त सुपारीको समेत सुपरजोन भइरहेका छन् ।”
प्रधानमन्त्री ओलीले सरकारले सुपरजोन घोषणा गरेर स्थानीय उत्पादनको बजारीकरण गर्दै आइरहेको पनि दाबी गर्नुभयो । “देशमा केही भएको छैन भन्ने होइन् । यहाँ धेरै कुरा भएका छन्”, उहाँले भन्नुभयो, “हामीले गर्न खोजेजति भएको छैन । अझै धेरै गर्नुपर्ने छ । विकासको गतिको रफ्तारलाई अझै बढाउनुपर्ने छ ।”