नेपालगञ्ज ८ साउनः बाँकेमा प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले नेपालगञ्जदेखि दिल्ली उडानले यहाँको अर्थतन्त्र चलायमान हुने हुँदा त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने भएका छन् ।
उडानका लागि यहाँका उद्योगी व्यवसायी तथा राजनीतिक दलसहितको सर्वपक्षीय बैठकले प्रधानमन्त्री ओलीको आगामी भदौ अन्तिम साता हुने भारत भ्रमणमा नेपालगञ्ज–दिल्ली उडानलाई एजेण्डा बनाउन आग्रह गरिएको छ ।
नेकपा (एमाले) बाँकेका अध्यक्ष निरक गुरुङले एजेण्डालाई प्राथमिकताका साथ उठाउने र त्यसको टुंगो नलाग्दासम्म नछाड्न आग्रह गर्दै यसको फाइदा र बेफाइदाबारेमा स्पष्ट हुन जरुरी भएको बताउनुभयो । “अब यसलाई उठाएर बीचमा छाड्ने होइन, यस क्षेत्रको विकासका लागि निरन्तर लागिरहनुपर्छ”, उहाँले भन्नुभयो ।
नेपाली कांग्रेस बाँकेका सचिव सुधाँशु कोइरालाले सबै दललाई विकासका सवालमा एकै ठाउँमा उभिएर अघि बढ्न अनुरोध गर्दै यस्ता विषयले नेपालगञ्जको परिचय स्थापित हुने बताउनुभयो । प्रधानमन्त्रीको निकट भविष्यमा हुन लागेको मित्र राष्ट्र भारतको भ्रमणमा यो विषयलाई प्रमुखताका साथ उठाउन पहल गर्ने निर्णय गरिएको उद्योग वाणिज्य सङ्घका महासचिव भीमबहादुर रानाभाटले बताउनुभयो ।
रानाभाटका अनुसार नेपालगञ्ज–दिल्ली उडानको दबाब बढाउन गत जेठ २३ गते भएको सर्वपक्षीय सरोकारवालाको भेलाले सङ्घका अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा ‘नेपालगञ्ज–दिल्ली उडान दबाब समूह’ गठन गरेको थियो । “दबाब प्रभावकारी बनाउन विभिन्न कार्ययोजना बनाइँदैछ”, दबाब समूहका सदस्य–सचिवसमेत रहनुभएका सङ्घका महासचिव रानाभाटले भन्नुभयो । सङ्घका अध्यक्ष धामीले सो एजेण्डा स्थापित गर्ने महत्वपूर्ण अवसर भएकाले सबै राजनीतिक दललाई समन्वय गरेर ध्यानाकर्षण गराउन प्रधानमन्त्रीसम्म पुगिने बताउनुभयो ।
नेपालगञ्जलाई ‘मानसरोवर गेटवे’ को रूपमा स्थापित गर्नका लागि नेपालगञ्ज–दिल्ली सिधा उडान अपरिहार्य मानिएको छ । यसले विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका करिब २५ जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने भएकाले सबैलाई समेटेर प्रधानमन्त्रीको ध्यानाकर्षण आवश्यक भएको सरोकार भएकाहरुले बैठकमा बताएका छन् ।
त्यसका लागि नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नविन गिरीको संयोजकत्वमा पूर्वअध्यक्ष झलक गैरे, नेपाली कांग्रेसका सचिव कोइराला, पत्रकार शरण कर्माचार्य, शङ्कर खनाल, आशिष गुप्ता र विज्ञ हरि सुवेदी सदस्य रहेको अध्ययन प्रतिवेदन निर्माण समिति गठन गरिएको छ । समितिले १० दिनभित्र नेपालगञ्ज–दिल्ली उडानको आवश्यकता, औचित्य र महत्त्वबारे अध्ययनसहितको प्रतिवेदन तयार पार्नेछ । प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिनेछ । प्रधानमन्त्री ओली आगामी भदौ ३१ मा नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ ।