काठमाडौँ, २२ असारः उपसभामुख इन्दिरा राना मगरले महिला आन्दोलनकी अग्रणी अभियान्ता योगमायाको योगदान नेपालको मात्रै नभई विश्वकै इतिहासमा अतुलनीय रहेको बताउनुभएको छ ।
राष्ट्रिय महिला आयोगद्वारा आज यहाँ आयोजित ‘योगमाया स्मृति दिवस’ कार्यक्रममा उपसभामुख रानाले निरंकुश राणा शासनकालमा योगमायाले देखाउनुभएको साहस र सामाजिक जागरणका लागि गरेको सङ्घर्ष आजका पुस्ताका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको हो ।
“राणाशासनमा लेख्न, बोल्न र सङ्गठित हुन निषेध गरिएको अवस्थामा योगमायाले सामाजिक सुधार र महिला अधिकारका लागि गरेको योगदान अविश्मरणीय छ”, उहाँले भन्नुभयो, “आजको पुस्ताले योगमायाको जीवनबाट प्रेरणा लिएर महिला हकअधिकारको क्षेत्रमा अझ समर्पणका साथ अघि बढ्नुपर्छ ।”
महिलामाथिको विभेद, हिंसा र अन्यायको अन्त्य गर्न प्रभावकारी कानुनी कार्यान्वयन र घरघरमा चेतनामूलक अभियान चलाउनु आवश्यक रहेको उहाँको भनाइ छ ।
योगमायाले सुरु गरेको सामाजिक रूपान्तरण र महिला सशक्तीकरणको यात्रा अझै सान्दर्भिक रहेको उल्लेख गर्दै उपसभामुख रानाले राज्यका सबै संरचनामा महिलाको समान सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यस अवसरमा राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले योगमायाले समाजिक तथा धार्मिक सुधारमा अतुलनीय योगदान दिएको भन्दै वर्गीय र जातीय विभेद हटाउनमा पनि अह्म भूमिका खेलेको बताउनुभयो ।
राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले सामाजिक रुपान्तरणकी सशक्त अभियान्ता योगमायाले दिनुभएको योगदानको कदर गर्दै आयोगले स्मिृति दिवस मनाउँदै आएको बताउनुभयो ।