काठमाडौँ, १८ असार : भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकोमा उक्त प्रस्ताव सर्वसहमतिले पारित भएको हो ।
उक्त प्रस्ताव पेस गर्नुहुँदै अर्थमन्त्री पौडेलले नयाँ कानुन कार्यान्वयनपछि भन्सार चुहावट नियन्त्रण, प्रविधिको प्रयोग बढाउने, भन्सार जाँचपास छिटोछरितो र प्रभावकारी ढङ्गले काम गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।
नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गनठको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानमध्ये सामान्य प्रावधान सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्ड पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने महासन्धिमा उल्लेख छ ।
त्यस्तै, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । यो ऐन प्रमाणीकरण भएको मितिले ९१औँ दिनदेखि लागू हुनेछ ।
राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते शुक्रबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेछ ।