चितवन, ३ असार : बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पाँच प्रदेशका चिकित्सक र नर्सका लागि प्यालिएटिभ केयरसम्बन्धी तालिम सुरू गरिएको छ । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुको आयोजनामा भएको तालिम सात दिनसम्म सञ्चालन हुनेछ ।
तालिममा १६ जना मेडिकल अधिकृत र नर्सिङ्ग अधिकृतको सहभागी रहनुभएको छ । तालिम उद्घाटन कार्यक्रममा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका उपनिर्देशक डा उमेश नेपालले तालिम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिमबाट प्राप्त सीपलाई आफ्नो क्षेत्रमा उच्चतम प्रयोग गर्न उपनिर्देशक डा नेपालले आग्रह गर्नुभयो । बागमती प्रदेश तालिम केन्द्र काठमाडौँका निर्देशक दीपक तिवारीले तालिम अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै प्यालिएटिभ केयर हुने यस अस्पतालमा नै तालिम आयोजना गर्दा बढी फलदायी हुने बताउनुभयो ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र टेकुका माधवकुमार श्रेष्ठ,क्यान्सर अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्मा, डा भावना वाग्ले, डा सुधिर श्रेष्ठ, डा सुरेन्द्र गौचन, डा प्रदीप न्यौपाने, डा योगेश रेग्मी, डा सुशीलकुमार सिंह, नर्स सविता पन्थीलगायत सहभागी हुनुहुन्थ्यो ।
तालिममा प्यालिएटिभ केयरका विभिन्न पक्षबारेमा सैद्धान्तिक एवं व्यावहारिक ज्ञान प्रदान गरिने छ । रोगका कारण जीवनको अन्तिम क्षणमा पीडाको अवस्थामा रहेकाहलाई सहजता प्रदान गर्न गरिने उपचार पद्धतिलाई प्यालिएटिभ केयर भनिन्छ । बिरामीको दुखाइ, श्वास फेर्न गाह्रो हुने, थकान, कब्जियत, भोक नलाग्ने, निद्राको समस्या र अन्य धेरै लक्षण समाधान गरी बिरामीलाई गुणस्तरीय र सहज जीवनयापन गराउन प्यालिएटिभ केयर दिइने बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका प्यान एण्ड प्यालिएटिभ केयर युनिटका प्रमुख डा भावना वाग्लेले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















