06/14/2025, 22:36:20

नयाँ ट्रफी र नयाँ ढाँचामा फिफा क्लब विश्वकप फुटबल २०२५


काठमाडौँ, ३१ जेठ : अमेरिकाका रंगशालाहरूमा शनिबार फिफा क्लब विश्वकप फुटबल २०२५ सुरु हुँदै छ । नयाँ ढाँचा र नयाँ ट्रफीको प्रतियोगिताका प्रमुख विशेषता हो, अत्यधिक धेरै नगद पुरस्कार ।

विश्व फुटबल महासंघ (फिफा) ले पूर्णतः नयाँ रूप दिएको प्रतियोगितामा कुल ३२ टिमको सहभागिता रहनेछ । यसअघि प्रतियोगिताको आकार सानो थियो । विश्वकप अगाडि आयोजक अमेरिका लागि यो ठूलो प्रतियोगिता आयोजनाको अनुभव बटुल्ने अवसर बन्नेछ ।

अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिको मिलेर विश्वकप आयोजना गर्दै छ । तर प्रतियोगितको नयाँ स्वरूप भने विवादबाट टाढा रहेको छैन । खेलाडीहरू अझ बढी खेल्नुपरेकामा चिन्तित छन् । टिकट बिक्री पनि खासै राम्रो हुन सकेको छैन, त्यसैले फिफाले त्यसको मूल्य पनि घटाएको छ । टिकटको मूल्य निर्धारण गर्न फिफाले नयाँ मोडल नै अगाडि सारेको छ ।

प्रतियोगिताको कुल पुरस्कार राशि नै एक अर्ब डलर रहेको छ । सहभागी सबै टिमले त्यसबाट केही न केही पाउने छन् । विजेता टिमको भागमा पर्नेछ १२ करोड ५० लाख डलर । यसअघि प्रतियोगिताका पुरानो संस्करण निकै कम चर्चाबीच चल्ने गरेको थियो । प्रत्येक महादेशका च्याम्पियनसँगै ६–७ टिमले मात्र भाग लिने गरेका थिए । यो वार्षिक रूपमा पनि आयोजना हुँदै आएको थियो ।

फिफाका अध्यक्ष जियानी इन्फाटिनो आएपछि भने अब प्रतियोगिताको आकार बढेर ३२ टिममा पुगेको हो । यसमध्ये केही आफ्नो महादेशका च्याम्पियन छन् भने केही क्षेत्रीय क्लब वरीयताको शीर्षस्थानमा रहेका टिम छन् । विजेतालाई प्रदान गरिने ट्रफीलाई पनि पूर्णतः नयाँ स्वरूप प्रदान गरिएको छ । अबदेखि यो प्रत्येक चार वर्षमा आयोजना हुनेछ । त्यसको अर्थ हो, फिफा यसलाई ठूलो प्रतियोगिताको रूप दिँदै छ ।

यसपल्ट कुल ६३ खेल हुनेछ । ती खेल अमेरिकाका विभिन्न ११ सहरमा हुनेछन् । शनिबार हुने पहिलो खेलमा इन्टर मिलान र अल अहली एफसी भिड्ने छन् । यो खेल हुनेछ, मियामी गार्डेनको हार्डरक स्टेडियममा । फाइनल जुलाई १३ मा हुनेछ । उपाधिको भिडन्त इस्ट रडरफोर्डमा हुनेछ । मूल प्रश्न के छ भने यसपल्टको प्रतियोगितामा बलियो टिम कुन कुन छन् त ?

यसको स्वाभाविक उत्तर हो, उपाधि जित्नका लागि युरोपकै टिम बलिया प्रत्याशी छन् । यो प्रतियोगिताका पछिल्ला २० संस्करणमध्ये युरोपबाट १६ विजेता निस्केको छ । अझ पछिल्ला ११ संस्करणमा युरोपका टिम लगातार विजयी छ । यसपल्ट युरोपका प्रतिनिधित्व गरेर खेल्ने ठूलो क्लब हुन्, पेरिस सेन्ट जर्मेन (पीएसजी), एट्लेटिको म्याड्रिड, युभेन्ट्स, म्यानचेस्टर सिटी, चेल्सी, बायर्न म्युनिक, इन्टर मिलान ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ