सुर्खेत छिन्चु, १९ जेठः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा सम्पन्न गर्न भौतिक पूर्वाधारको समस्या नभएको बताउनुभएको छ ।
पूर्वाधार नभएका कारण नभई सम्बन्धित पक्षको अयोग्यता र असक्षमताका कारण हुन नसकेको मुख्यमन्त्री कँडेलको आरोप छ । तीन पटक मिति तोकेर पनि आयोजना गर्न नसक्नुलाई कर्णालीमा पूर्वाधार तयार नभएर रोकिएको भन्नु न्यायोचित नहुने उहाँले बताउनुभयो । उहाँले दशौँ राष्ट्रिय खेलकुदका लागि पूर्वाधार निर्माण पूरा भइसकेकाले सङ्घीय सरकारले नयाँ मिति तोकेर काम अघि बढाउन आग्रह गर्नुभयो ।
नेपाल क्रिकेट सङ्घ क्यानको आयोजना तथा कर्णाली प्रदेश क्रिकेट सङ्घको सहआयोजनामा आयोजित एक कार्यक्रममा आज उहाँले कर्णाली प्रदेश सरकारले राष्ट्रिय खेलकुदका लाािग आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी दिनहरुमा केन्द्र सरकारले विकास र खेलहरुका लागि साधनस्रोतको कमी जहाँ छ त्यहाँ ध्यान पु¥याउनुपर्छ ।” सङ्घीय सरकार र खेल क्षेत्रमा रहेका केन्द्रीय पदाधिकारीले कर्णालीको विकास र खेलकुद पूर्वाधारमा ध्यान नपु-याएको उहाँले गुनासो गर्नुभयो ।
प्रदेश समुन्नति र समृद्धिका लागि प्राकृतिक रुपमा भरिपूर्ण भएपनि त्यसको उपयोग गर्न पूर्वाधारको विकास आवश्यक रहेको उहाँको जिकिर छ । कर्णालीलाई विकट, विपन्नको थलोको रुपमा हेरिने दृष्टिकोण बदल्न जरूरी रहेको उहाँको भनाइ छ ।