बागमती, १५ जेठः बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले गणततन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक भएको बताउनुभएको छ ।
अठारौँ गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख देवकोटाले देशमा सबैखाले निरङ्कुशताविरुद्ध सम्पूर्ण राजनीतिक दल र आम नागरिक समाज एकजुट भएर इतिहास बदलेजस्तै आज पनि गणतन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक भएको बताउनुभएको हो ।
मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौम सम्पन्न बनाउँदै राष्ट्र निर्माणको मूल प्रवाहमा समाहित गरेको उल्लेख गर्नुहुँदै सन्देशमा प्रदेश प्रमुख देवकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन कायम गर्न सम्भव भएकाले यसलाई संस्थागत गर्न सबै पक्ष लाग्नु जरुरी भएको बताउनुभएको छ ।