लगातार घटिरहेको बजार सोमबार एकैदिन एक सय २७ अंकले बढेर २८२३ विन्दुमा पुगेको छ। अन्तरदिनको कारोबारमा बजारले २६८० छोएपछि बजार बढ्न थालेको हो। २६६५ देखि २६८० को आसपासमा बजारले बलियो टेबा पाउने अपेक्षा यसअघि देखिएको थियो। खासगरी फिबोनाची रिट्रेसमेन्टले देखाएको यो टेबामा आएपछि बजार बढ्ने लगानीकर्ताको मनोविज्ञान बनिरहँदा बजारमा उत्साह देखिएको हो।
बजार यसअघिको उच्च विन्दु ३१९८ विन्दु नजिक आएर घट्न थालेको थियो। लगानीकर्ताहरू यो उचाइ तोडिएर नयाँ उच्च विन्दु बन्ने आशामा रहँदा बजार घट्न थालेको थियो। यसअघि पनि बजारले नयाँ उचाइ बनाउनुअघि केही ठूलै करेक्सन लिने गरेको थियो। अहिले यस्तो करेक्सन सकिएको अनुमान लगानीकर्ताहरूले गर्न थालेका छन्। बजार बढ्दै जाँदा लगानीकर्ताहरूले आफ्नो जोखिम क्षमता हेरेर निर्णय लियो भने सही हुन्छ।
आजको बजारमा कारोबार रकम समेत २४ प्रतिशतले बढेर १३ अर्ब १० करोड रूपैयाँ पुगेको छ। यसदिन ३३५ वटा धितोपत्रको तीन करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर किनबेच भएको हो। सोमबार २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ। यसदिन सात कम्पनीको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ। नेशनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपर माई हाइड्रोपावरको मूल्य १० प्रतिशतका दरले बढेको हो।
यस्तै, लक्ष्मी उन्नति कोषको मूल्य सर्वाधिक ४.७१ प्रतिशतले घटेर इकाइ मूल्य ९ रूपैयाँ ३१ पैसामा झरेको छ। माइखोला हाइड्रोपावरको मूल्य ३.५९ प्रतिशतले घटेको छ। उक्त कम्पनीको मूल्य ५९० रूपैयाँ कायम भएको छ। सोमबार गुडविल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३३० रूपैयाँमा ४६ करोड ५२ लाखको सेयर कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ८.१३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा अपी पावर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ३५३ रूपैयाँमा ४१ करोड ८८ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ७.९४ प्रतिशतले बढेको छ भने दोस्रोमा लगानी समूहको परिसूचक ५.४५ प्रतिशतले बढेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















