11/16/2025, 17:06:30
आइतबार, कार्तिक ३०, २०८२

सेयर बजार ५.१५ अंक घटे, नेप्से २५४० अंकमा, ३ अर्ब ८९ करोडको कारोबार


३० कात्तिक, काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंक घटेको हो । दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो । दिउँसो २ : ५३ बजे नेप्से आजको न्यूनतम अंक २५३३ सम्म झरेको थियो । बजार घट्दा कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ४९ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोडको भयो ।

७४ कम्पनीको मूल्य बढ्दा १६८ को घट्यो भने १४ को स्थिर रह्यो । सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो ।  तीन समूहगत सूचक बढेका छन् । होटल तथा पर्यटन ०.१८, उत्पादन तथा प्रशोधन ०.०२ र अन्य समूह ०.७२ प्रतिशत बढे । बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार ०.१० प्रतिशत घटे ।

तीन कम्पनीको सेयर मूल्य १० प्रतिशत बढ्यो । हालै सूचीकृत भएका सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य १० प्रतिशत बढेको हो । त्यस्तै नबिल डिबेन्चर २०८५को ९.९१, नबिल डिबेन्चर २०८९ को ६.९० प्रतिशत मूल्य बढ्यो । भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । रुरु जलविद्युत्‌को ९.५२, दरामखोला हाइड्रोपावरको ६.०९, पिपुल्स हाइड्रोपावरको ५.२३ तथा माबिलुङ इनर्जीको ४.३७ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका धितोपत्रमा सिद्धार्थ बैंक डिबेन्चर ०८९, नेपाल पुनर्बीमा, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर छन् ।