काठमाडौँ, कात्तिक २८ : नेपाल सरकारको समेत लगानी रहेको तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (होटल हयात रिजेन्सी) ले कामदार तथा कर्मचारी कटौती गर्ने निर्णय गरेपछि उत्पन्न विवाद समाधानका लागि सुरु गरिएको वार्ता बिहीबार पनि निष्कर्षमा पुग्न सकेन।
मंगलबार व्यवस्थापनले श्रमिक कटौतीको निर्णय सार्वजनिक गरेपछि सुरु गरिएको वार्ता बैठकमा होटल–रेस्टुरेन्ट क्षेत्रमा क्रियाशील तीन प्रमुख राजनीतिक दल–निकट श्रमिक संगठनहरू र होटल व्यवस्थापनबीच दुईपक्षीय विस्तृत सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको थियो। तर अन्तिम चरणमा केही विषयमा सहमति नजुटेपछि वार्ता अधुरै टुंगिएको सहभागी स्रोतले जानकारी दियो।
जेन-जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि होटल भदौ २४ गतेदेखि नै बन्द छ। पुनःनिर्माणका लागि कम्तीमा एक वर्ष समय लाग्ने उल्लेख गर्दै व्यवस्थापनले मंसिर २५ गतेदेखि लागू हुनेगरी सम्पूर्ण श्रमिक कटौतीको सूचना मंगलबार जारी गरेको थियो। उक्त निर्णयविरुद्ध ट्रेड युनियनहरू विद्यमान कानुनअनुसार श्रमिक व्यवस्थापन गर्नुपर्ने माग राख्दै आएका छन्।

युनियनहरूले होटल पुनः सञ्चालनमा आएपछि सबै श्रमिकलाई काममा फर्काउनुपर्ने, बन्द अवधिमा श्रम ऐनअनुसार न्यूनतम पारिश्रमिक सुनिश्चित गरिनुपर्ने, आगजनीबाट भएको क्षतिको यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग राखेका छन्। साथै आपतकालिन अवस्थामा पर्याप्त मात्रामा पानी उपलब्ध हुँदाहुँदै पनि आगो नियन्त्रण किन हुन नसकेको, कोठामा रहेका पाहुनालाई उद्धार गर्न किन ढिलाइ भयो, एकैपटक एनाउन्समेन्ट मार्फत सबै गेष्टलाई किन नउद्धार गरिएको, अन्तर्राष्ट्रिय चेनका होटलमा आवश्यक आपतकालिन अभ्यास किन नअपनाइिएको भन्ने विषयमा पनि स्पष्टता माग गरिएको सहभागी श्रमिक नेताले बताए।
वार्तामा होटलतर्फबाट महाप्रबन्धक आशिष कुमार, कम्पनीकी सचिव गीता दाहाल र पीआर म्यानेजर गोपालबहादुर भण्डारी उपस्थित थिए। मजदुरतर्फ कांग्रेस–निकट ट्रेड युनियनका अध्यक्ष केशर श्रेष्ठ र उपाध्यक्ष राजेन्द्र खड्का, एमाले–निकट ट्रेड युनियनका अध्यक्ष डिल्लीप्रसाद बजगाई र सचिव हरिशरण ढकाल तथा माओवादी–निकट होटल ट्रेड युनियनका अध्यक्ष खिल कोइराला र सचिव विश्वराज खड्का सहभागी थिए।
श्रमिकहरुका मागका आधारमा व्यवस्थापनले प्रस्तुत गरेका प्रस्तावप्रति एमाले र माओवादी पक्ष सकारात्मक देखिए पनि कांग्रेस–निकट युनियन केही बुँदामा असहमति राखिरहेको एमाले–निकट ट्रेड युनियनका अध्यक्ष बजगाईंले बताए। उनका अनुसार जेनजी आन्दोलनअघि होटलमा १४३ स्थायी, करिब २०० करार र डेढ सय जति दैनिक ज्यालादारी श्रमिक कार्यरत थिए। आन्दोलनपछि महाप्रबन्धक आशिष कुमारबाहेक १६ जना विदेशी कर्मचारीलाई व्यवस्थापनले पहिले नै बिदाइ गरिसकेको उनले जानकारी दिए।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













