
काठमाडौँ, ८ जेठ: स्पा र वेलनेसको अवधारणा मानव सभ्यताको प्रारम्भदेखि नै विद्यमान रहेको पाइन्छ । प्राचीन समयदेखि नै मानिसहरू प्राकृतिक स्रोतहरू जस्तै तातोपानी, जडीबुटी, ध्यान, योग र जल चिकित्साको माध्यमबाट आफ्नो शारीरिक, मानसिक र आत्मिक स्वास्थ्य सन्तुलनमा ध्यान दिने गर्दथे । आजको युगमा मानिसहरुको जीवन अन्त्यन्तै व्यस्त र तनावपूर्ण हुने गरेको छ । कामको तनाव, अनियमित खानपान र अपर्याप्त आरामले गर्दा मानिस विभिन्न शारीरिक र मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् । यसको समाधानको उपायको रूपमा विश्वभर स्पा र वेलनेशलाई लिन थालिएको छ ।
मेसोपोटामिया, मिश्र र भारतमा परम्परागत चिकित्सा पद्धति र प्राकृतिक उपचारको अभ्यास प्राचीनकालदेखि चलिआएको छ । प्राचीन भारतमा आयुर्वेद र योगलाई शरीर, मन र आत्माको सन्तुलनका लागि उपयोग गरिन्थ्यो । ग्रीस र रोमन साम्राज्यमा तातोपानी स्नान अत्यन्त लोकप्रिय थिए । त्यहाँ स्नान, विश्राम र सामाजिक जमघट सँगसँगै स्वास्थ्य सन्तुलनमा जोड दिइन्थ्यो । चीन र जापानमा तातोपानी, अकुपञ्चर÷अकुप्रेसरजस्ता प्राकृतिक उपचार पद्धति स्वास्थ्य सन्तुलनको लागि प्राचीनकालदेखि चलिआएका छन् ।
आजको २१औँ शताब्दीमा स्पा र वेलनेस केवल स्वास्थ्य सेवाको रूपमा मात्र नभई खरबौँ डलरको विश्वव्यापी उद्योग बनेको छ । वेलनेस भन्नाले केवल रोगको अभाव मात्र होइन, यो जीवनशैलीको एक सक्रिय प्रक्रिया हो, जसले व्यक्तिलाई आफ्नै शरीर, मन र आत्मासँग जोड्न मद्दत गर्छ । डिजिटल जीवनशैली र मानसिक समस्याको वृद्धि, दीर्घकालीन रोगको जोखिम र मानिसको स्वास्थ्यप्रतिको सचेतनाले वेलनेस र स्पा सेवाको माग विश्वव्यापी रूपमा बढेको पाइन्छ । दिगो वेलनेस पर्यटन, पर्यावरणमैत्री स्पा, चिकित्सकीय वेलनेस, स्वास्थ्य केन्द्रित चिकित्सा सेवा, परम्परागत र आधुनिक चिकित्सा संयोजन जस्ता नयाँ विधा विकसित भएका छन् । कोभिड–१९ महामारीपछि मानसिक स्वास्थ्य, रोगप्रतिरोधात्मक क्षमतामा वृद्धि÷समष्टिगत तन्दुरुस्तताप्रति विश्वभर नयाँ चासो देखिएको छ । त्यसैले मानिसहरू शारीरिक, मानसिक, भावनात्मक र आध्यात्मिक सन्तुलनको खोजीमा छन् ।

नेपालमा स्पा र वेलनेस
नेपाली सन्दर्भमा वेलनेस भन्नाले ‘कल्याण’ हो, जसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक र आध्यात्मिक पक्षहरूको सन्तुलनलाई जनाउँछ । यो अवधारणा नेपालमा नयाँ होइन, यसको जरा हाम्रो परम्परागत आयुर्वेद, योग, ध्यान, जडीबुटी उपचार र प्राकृतिक जीवनशैलीमा गहिरो रूपमा जोडिएको छ । देशका विभिन्न स्थानमा रहेका तातोपानी कुण्डलाई प्राकृतिक जलचिकित्साको रूपमा लिने गरिन्छ । नब्बेको दशकपछि होटलहरुमा स्पा सेवाको थालनी भएको पाइन्छ । फुलबारी रिसोर्ट एण्ड स्पा नेपालकै पहिलो स्पा रिसोर्ट थियो । विसं २०५० सालतिर काठमाडौँ र पोखराका केही होटलमा विदेशी पर्यटकलाई लक्षित गरी स्पा सेवा सुरु भयो । अहिले भने नेपालभर स्पाको सङ्ख्या एक हजारभन्दा बढी पुगेको छ ।
नेपाली समाजमा शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य र सामाजिक सन्तुलनलाई महत्व दिइन्छ । यसले वेलनेसको व्यापक अर्थलाई समेटछ । आफ्नो प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र परम्परागत उपचार पद्धतिलाई उपभोग गरी वेलनेश गन्तव्यको रूपमा स्थापित गर्न सकिने सम्भावना छ । पछिल्लो १५–२० वर्षमा निजी क्षेत्रको अग्रसरताले यो क्षेत्रलाई व्यावसायिक रूपमा अघि बढाएको छ र बेलनेस पर्यटनलाई नेपालको पर्यटन क्षेत्र विविधीकरण गर्ने अवसरको रूपमा हेरिन थालेको छ । नेपालका अधिकांश लक्जरी होटल तथा रिसोर्टले अहिले स्पा र वेलनेस सेवा दिइरहेका छन् । यसमा अर्बौँ रूपैयाँको लगानी र हजारौँ व्यक्तिले रोजगारी पाएका छन् । हालका स्पा सञ्चालकले आफ्ना वर्षौँको अनुभव पाँचतारे होटलमा काम गर्दै वा विदेशी अन्तरराष्ट्रिय चेन होटलबाट सिकेर सीप आर्जन गरेका हुन् ।

नेपालको प्राकृतिक सौन्दर्य, हिमालयको शान्त वातावरण र समृद्ध सांस्कृतिक विरासतले यसलाई वेलनेस पर्यटनको लागि एक आदर्श गन्तव्य बनाउँछ । विश्वभर बढ्दो वेलनेस पर्यटनको मागलाई मध्यनजर राख्दै नेपालले आफ्नो प्राकृतिक र सांस्कृतिक सम्पदालाई उपयोग गरी यस क्षेत्रमा आफ्नो पहिचान बनाउन ठूलो सम्भावना राख्दछ । अन्तरराष्ट्रिय पर्यटक नेपालमा योग, आयुर्वेद र प्राकृतिक उपचारको अनुभव लिन आउँछन्, जसले गर्दा नेपालको पर्यटक आगमनमा उल्लेख्य वृद्धि र तिनको बसाइलाई लम्ब्याउन सकिन्छ । सँगसँगै यसले स्थानीय संस्कृति र परम्परालाई संरक्षण गर्छ र नेपाललाई विश्वको नक्सामा एक स्वास्थ्य र आरामको गन्तव्यको रूपमा स्थापित गर्न मद्दत पुग्दछ ।
वेलनेसबाट हुने फाइदा
वेलनेस पर्यटनले नेपाललाई धेरै प्रकारका फाइदा दिन्छ । यसले पर्यटन उद्योगलाई बढावा दिनुको साथै स्थानीय अर्थतन्त्रलाई पनि मजबूत बनाउँछ । स्पवा तथा वेलनेसको प्रवर्द्धनबाट व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यमा सुधारको साथै रोजगारी सिर्जना र मुलुकको आर्थिक समृद्धिमा योगदान पुग्दछ ।

स्वास्थ्यमा फाइदा ः आधुनिक जीवनशैलीले मानिसलाई विभिन्न स्वास्थ्य समस्याबाट जोगिन गाहे बनाएको छ । तनाव, अनिद्रा, मांसपेशी दुखाई र मानसिक अशान्तिजस्ता समस्या बढ्दै गइरहेका छन् । यसले विश्वभर मानिस आफ्नो शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य सुधार गर्न स्पा र वेलनेश सेवाको खोजीमा छन् । वेलनेस सेवाजस्तै मालिस, योग, ध्यान, आयुर्वेदिक उपचार र प्राकृतिक चिकित्साले मानिसलाई तनावमुक्त गर्न, शरीरिलाई आराम दिन र मनलाई शान्त बनाउन मद्दत गर्दछ । यसले समग्र रूपमा समाजको उत्पादकता र जीवनस्तरमा पनि सुधार ल्याउछ ।
वेलनेस पर्यटनले मानिसहरूको शारीरिक र मानसिक स्वास्थ्यमा ठूलो प्रभाव पार्छ । आयुर्वेदिक उपचार, योग, र ध्यानले तनाव, अनिद्रा र मांसपेशी दुखाईजस्ता समस्याको समाधान गर्छ । यसले नयाँ स्वास्थ्य चुनौतीजस्तै नेकटेक (टेक्नोलोजी प्रयोगबाट हुने गर्धन दुखाई)को समाधानमा पनि मद्दत गर्छ । स्पाले शारीरिक र मानसिक स्वास्थ्य दुबैका लागि धेरै लाभ प्रदान गर्दछ । शारीरिक रूपमा यसले तनाव कम गर्न, रक्तसञ्चार सुधार गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ । मानसिक रूपमा, स्पाले विश्राम अनुभूति दिलाउने, चिन्ता र डिप्रेसन घटाउने तथा समग्र जीवन सन्तुलन बढाउने काम गर्छ ।
विश्वभर मानसिक स्वास्थ्य समस्याको वृद्धि, बढ्दो प्रतिस्पर्धा र तीव्र गतिमा बदलिँदो जीवनशैलीले वेलनेस पर्यटनप्रतिको माग उल्लेखनीय रूपमा बढाएको छ । पर्यटक यात्रा गर्दासमेत तनाव घटाउने र आफ्नो समग्र स्वास्थ्य सुधार गर्ने उपायको खोजीमा हुन्छन् । यस प्रवृत्तिले स्पा उपचार, योग रिट्रिट र अन्य समग्र अभ्यासलाई झन् लोकप्रिय बनाएको छ । मानिसहरू अब वेलनेसलाई केबल उपचारको रूपमा नभई जीवनशैलीको अङ्ग बनाउँदैछन् । वेलनेसले शरीर र मनप्रतिको सजगता बढाउने, खानेकुरामा रुची जगाउने, मध्यमस्तरको तनाव र व्यायामको सन्तुलन कायम राख्न मद्दत गर्ने हुँदा यो हाम्रो जीवनशैलीको नियमित भागको रूपमा रहेको छ ।
शारीरिक तन्दुरुस्ती ः मसाज, तातोपानीजस्ता स्पा उपचारले मांसपेशीमा भएको तनाव हटाउन, दीर्घकालीन पीडा कम गर्न र जोर्नीहरूको गतिशीलता सुधार गर्न सहयोग गर्छन् । तातोपानी स्नान, विपरीत तापक्रमको पानी र मसाजले रक्तसञ्चार बढाउन सहयोग पु¥याउँछ । यसबाट शरीरभरी अक्सिजन र पोषक तत्व राम्रोसँग आपूर्ति गर्न मद्दत पुग्दछ । स्पा उपचारले शरीरबाट विषाक्त पदार्थहरू बाहिर निकाल्न सहयोग गर्छ, समग्र स्वास्थ्य सुदृढ गर्छ र रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन सहयोगी हुन्छ । विशेषगरी मसाजजस्ता स्पा उपचारले मानसिक तनाव घटाएर विश्राम अनुभूति दिलाउँछ । निद्राको गुणस्तर र बानीमा सुधार पनि ल्याउँछ । स्पा उपचारले छालाको स्वास्थ्य सुधार गर्न सहयोग गर्छन्, जसले छालालाई उज्यालो, मृदु र आकर्षक बनाउँछ ।

मानसिक स्वस्थताः मसाज, अरोमाथेरापीजस्ता स्पा उपचारले तनाव हर्मोनको मात्रा घटाउँछ र मानसिक शान्ति अनुभूति गराउँछन् । स्पाको शान्त वातावरण र उपचारले मानसिक सन्तुलन कायम राख्न, चिन्ता र डिप्रेसनका लक्षण कम गर्न तथा खुशीको अनुभूति बढाउन सहयोग गर्छ । रक्तसञ्चार सुधार हुने भएकाले स्पा उपचारले मानसिक स्पष्टता, एकाग्रता र सोच्ने क्षमतालाई बढावा दिन्छ । स्पा उपचारले शरीरमा इन्डोरफिन्स, डोपामाइन÷सेरोटोनिनजस्ता ‘सुखद्’ हर्मोनको उत्पादन बढाउँछ, जसले ऊर्जास्तर र ‘मुड’ सुधार गर्न मद्दत गर्छ । स्पामा समय बिताउँदा आत्म–हेरचाहको अनुभूति हुन्छ । यसबाट व्यक्तिले आत्म–सम्मान र आत्मविश्वास बढाउँछ र सकारात्मक आत्म–छविमा सुधार आएको अनुभूति गर्दछ ।
रोजगारी सिर्जनाः विश्वका धेरैजसो मुलुकमा वेलनेस पर्यटनको माध्यमबाट राज्यले राम्रो आम्दानी गर्नुको साथै स्थानीय रोजगारी सिर्जना भएको छ । नेपाल भ्रमणमा आउने पर्यटकलाई मात्रै लक्षित गरेको अवस्थामा पनि पर्यटकको वसाइ लम्ब्याउनुको साथै उनीहरुले खर्च गर्ने ठाउँ बन्नसक्छ ।
चुनौतीहरू र समाधान
नेपालमा वेलनेस पर्यटनको विकासमा धेरै चुनौती छन् । यसको लागि सरकार, निजी क्षेत्र, र स्थानीय समुदायको सहयोग आवश्यक छ । पर्यटन मन्त्रालयले होमस्टे, होटल, र रिसोर्टका लागि मापदण्ड तयार गरेको भए पनि अहिलेसम्म स्पा र वेलनेस क्षेत्रका लागि मापदण्ड बनाएको छैन । विश्वभर लक्जरी स्पा र होटलमा अत्यधिक माग भए पनि, धेरै नेपाली युवालाई यो उद्योगबारे अझै पर्याप्त जानकारी छैन ।
नेपालमा स्पा र वेलनेस सेवाका लागि स्पष्ट मापदण्ड नहुँदा केही विकृति विसङ्गति देखिएका छन् । यसले गर्दा सेवाको गुणस्तरमा असर पर्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले मसाज थेरापी, योग र सौन्दर्य चिकित्साको प्रशिक्षण दिन सकेको छ । सिटिइभिटीले वेलनेससम्बन्धी पाठ्यक्रम तयार गरी त्यसअनुसार जनशक्ति तयार गर्न सकिएमा रोजगारीको अवसर विस्तार हुनेछ ।

निष्कर्ष
नेपालले वेलनेस पर्यटनमा सफल हुन धेरै कदम चाल्न आवश्यक छ । नेपाल र विश्व बजारमा स्पा तथा वेलनेस क्षेत्रमा रोजगारीका अवसर निकै आकर्षक बन्दै गएका छन् । यो क्षेत्रमा दक्ष जनशक्तिको माग उच्च छ र तलब पनि प्रतिस्पर्धात्मक छ । नेपालका अधिकांश स्पा व्यवसायी पनि कहिल्यै न कहिल्यै स्पा व्यावसायिक भएरै आफ्नो ‘करिअर’ सुरु गरेका थिए । यो क्षेत्रमा व्यवसायी बन्ने अवसर पनि सजिलो छ, किनभने सीप, अनुभव र लगनशीलताबाट नै यो उद्योगमा सफल हुन सकिन्छ । युवाले स्पा तथा वेलनेसलाई गम्भीर रूपमा लिएर आफ्नो भविष्यको ‘करिअर’को रूपमा हेर्नु आवश्यक छ, किनभने यो क्षेत्रले देशभित्र र विदेशमा उत्कृष्ट रोजगारी र व्यावसायिक सम्भावना प्रदान गर्छ ।
नेपालमा वेलनेस पर्यटनको भविष्य उज्ज्वल छ । यसले न केवल स्वास्थ्य र आराम प्रदान गर्छ, तर यसले नेपालको अर्थतन्त्र र पर्यटन उद्योगलाई पनि बढावा दिन्छ । नेपाललाई वेलनेस पर्यटनको गन्तव्यको रूपमा विकास गर्न सकिन्छ । यसका लागि सरकार, निजी क्षेत्र र स्थानीय समुदायको सहयोग आवश्यक छ । यसलाई व्यवस्थित, गुणस्तरीय र दिगो बनाउन स्पष्ट नीति, मापदण्ड, तालिम र अनुगमनका लागि यो निर्देशिका अत्यन्त आवश्यक छ । नेपाल सरकारले अन्य पर्यटन क्षेत्रझैँ वेलनेस पर्यटनका लागि छुट्टै निर्देशिका तत्काल लागू गर्नुपर्ने आवश्यकता छ ।
– सुरेश पुरी
लेखक नेपाल स्पा तथा वेलनेस सङ्घका अध्यक्ष तथा ट्रांक्विलिटी स्पाका कार्यकारी निर्देशक हुनुहुन्छ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










