७ जेठ, काठमाडौं : नेपालमा प्रि–मनसुन गतिविधि तुलनात्मक रूपमा बढी सक्रिय भएको छ । मौसमविद्हरूका अनुसार सामान्यतया प्रि–मनसुन प्रणाली मार्च, अप्रिल र मे गरेर तीन महिना (मनसुन नभित्रेसम्म) रहन्छ । तर, यस वर्ष अप्रिलमा पूरै सुख्खा खडेरी लागेको भएपनि मे लागेपछि भने देशैभर बादल लाग्ने, पानी पर्ने, हावाहुरी चल्ने, मेघगर्जन र चट्याङ पर्ने क्रम चलिरहेको जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकालले बताए ।
हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहेको छ । छिनमै फेरबदल भइरहेको मौसमी प्रणालीले गर्दा स्थानीय सर्वसाधारणमा मनसुन नै प्रवेश भएको हो कि भन्ने भान परेपनि प्रि–मनसुनकै प्रणाली सक्रिय रहेको मौसमविद् ढकालले बताए ।
‘प्रि–मनसुनको प्रकृति नै यस्तै चल्ने हो, कालो बादलको उचाइ बढ्दै जाँदा बिजुली चर्किने, चट्याङ पर्ने, मेघगर्जन हुने, हावाहुरी बतास चल्ने हुन्छ, हल्कादेखि, मध्यम र भारी वर्षा हुन्छ,’ उनले भने, ‘ओल्लो गाउँमा असिना पानी पर्दा अर्को गाउँमा छिट्याउने मात्रै भइरहेको हुन्छ, तापक्रम तलमाथि हुन्छ, पूरै सुख्खा भएर अहिले बादल पर्ने, पानी पर्ने क्रम चलिरहेको छ ।’
गत वर्ष जसरी हावाको तातो लहर उति धेरै नदेखिएको भएपनि कतै हप्प गर्मी हुने, कतै जाडो हुने क्रमसमेत चलिरहेको छ । ‘हावाको तातो लहर भनेको मनसुन अगाडिको खडेरीले आउने हो, यस वर्ष नेपालमा मात्रै होइन, छिमेकी भारतमासमेत उति धेरै असर पारेको छैन,’ जलवायुविज्ञ ङमिन्द्र दाहाल भन्छन्, ‘प्रि–मनसुन उत्तर–पश्चिम चिसो हावा र दक्षिण पश्चिम तातो हावाको लुकामारी हो, यसो हुँदा पानी परे कतै गर्मी महसुस हुने र कतै चिसो महसुस हुने गर्छ ।’ प्रि–मनसुनका बेला यदि पानी परेर चिसो महसुस भएमा उत्तर पश्चिम हावाको प्रणालीले पानीको बाफलाई बादलमा परिणत गरेर ल्याएको वर्षात हो भन्ने बुझ्नुपर्ने बताए । मनसुनमा भने पानी परेपनि न्यानो हुन्छ र न्यानोपन एकनासे खालको हुने गर्छ ।
एकसाता अघि रोशी खोलामा बाढी आउने गरी दिउँसो करिब ३ घण्टा वर्षा भएपछि स्थानीयले मनसुन भित्रिएको अनुमानसमेत गरेका थिए । रोशी खोलामा बाढी आएर त्यतिबेला बीपी राजमार्ग करिब १६ घण्टा अवरुद्ध भएको थियो भने पनौतीको ठाडो खोलाले एक महिलालाई बगाएको थियो । प्रि–मनसुनको वर्षात दरमा बदलाव आएका कारण उक्त घटना भएको उज्जवल उपाध्याय, पर्यावरण तथा मौसमविद्ले बताए । ‘पहिले दुई दिन लगाएर पर्ने पानी अहिले दुईतीन घन्टामा पर्ने कारण रोशीमा बाढी आउने जस्ता विपद् भइरहेको छ,’ उनले भने, ‘जलवायु परिवर्तनको विश्वव्यापी रूपमा नै प्रभाव परेको छ, यसैगरी भूउपयोगमा बदलावको प्रभाव छ, यसले गर्दा प्रि–मनसुनमा नै विपद् जोखिम बढेको देखिन्छ ।’
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य’ सम्बन्धी कार्ययोजनामा उल्लेख गरिएअनुसार वर्षभरि पर्ने कुल देशभर वार्षिक रूपमा हुने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनको चार महिनाको अवधिमा र २० प्रतिशत वर्षा बाँकी आठ महिनामा हुन्छ । जलवायुविज्ञ दाहालले पनि पानी पर्ने अवधि र मात्रामा आएको फेरबदलले प्रि–मनसुनकै वर्षातले विपद् निम्त्याएको बताउँछन् । ‘प्रि–मनसुनको दर दैनिक र मासिकमा हेर्ने हो भने औसतभन्दा त्यति धेरै भिन्नता छैन, घण्टाको दरमा पानी परेको मात्रालाई हेर्ने हो भने धेरै भिन्नता देखिइसकेको छ,’ उनले भने, ‘पानी पर्ने समय घटेको छ, मात्रा बढेको छ, त्यही भएर रोशीको जस्तो घटना भएको हो ।’ जलवायु परिवर्तनको प्रभाव परी नै सकेका कारण पहिलेको जसरी पछिल्ला वर्षहरुको मौसम प्रणाली छैन । ‘नौलो नौलो खालको हुने गरेको छ । मौसमी प्रणालीको विकासमा अनिश्चितता र जोखिमहरू पनि छन्,’ दाहालले थपे ।
पर्यावरण तथा मौसमविद् उपाध्यायका अनुसार यसपालि प्रि–मनसुनमा मे पहिलो दिनदेखि नै पहाडी क्षेत्रहरूमा केही दिनबाहेक छिटफुट नै भएपनि पानी परिरहेको छ र यो क्रम आगामी एक हप्तासम्म चल्ने देखिन्छ । स्थानीय वायु, बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव एकैचोटी पर्दा काठमाडौं र पोखरामा दिनहुँजसो वर्षात भइरहेको उनले बताए । ‘जुनको पहिलो हप्ता भने सुख्खा हुने पूर्वानुमान गरिएको छ, जुन दोस्रो साता वर्षा हुने भएपनि तराई क्षेत्रमा अपेक्षाकृत रूपमा पानी पर्दैन,’ उनले भने । जुनको १३ देखि १५ को बीचमा बंगालको खाडीबाट आएको हावाको बहावले बोकेर ल्याएको मौसमी प्रभावबाट बन्ने मनसुन पूर्वी नेपालको झापा हुँदै प्रवेश हुने पूर्वानुमान गरेका छन् । यस वर्ष औसतभन्दा ५ देखि १० प्रतिशतभन्दा बढी मनसुनी वर्षात हुने अनुमान गरिएको छ । मनसुनजन्य विपद्का घटना धेरै हुने सम्भावना छ । प्रि–मनसुनबाटै वर्षात भइरहेकाले कृषिबालीलाई फाइदा पुग्ने, खानेपानी संकट टर्ने र गर्मी पनि तुलनात्मक रूपमा कम हुने उनको अनुमान छ ।
तर, जलवायुविज्ञ दाहालले भने पानीको मुख्यस्रोत नै आकाश रहँदै आएको अवस्थामा पानी पर्ने मात्रा र अवधिले प्रभाव पार्ने बताउँछन् । ‘पानी माटोमा अडिनेगरी परेको छ भने कृषिमा फाइदा पुग्ने भयो, अहिले त सिँचाइ कुलो सिमेन्टको बनाएर परेको पानी पनि सिधै खोलातिर बग्ने गरेको छ, पानी पर्दैमा राम्रो हुनेभन्दा पनि कति जमिनमुनि सोसिन पाउँछ भन्नेले अर्थ राख्छ,’ दाहालले भने ।
यता जल तथा मौसम विज्ञान विभागका मौसम पूर्वानुमान महाशाखाले भने मनसुन भित्रिनेबारे यकिन पूर्वानुमान नभइसकेको जानकारी दिएको छ । ‘अहिले प्रि–मनसुन नै चलिरहेको छ, यो नसकिएसम्म मनसुन सुरुवात हुँदैन, कहिले प्रवेश गर्छ भन्ने अहिले भन्न सकिँदैन,’ मौसमविद् ढकालले । यद्यपि मौसम विभागका अनुसार सामान्यतया मनसुन जुन १३ मा पूर्वी नेपालबाट प्रवेश भएर अक्टोबर २ मा पश्चिम नेपाल हुँदै बाहिरिन्छ । गत वर्ष औसतभन्दा तीन दिन अगावै प्रवेश गरेको थियो ।
औसत ११२ दिन सक्रिय हुने मनसुन सबैभन्दा छोटो ७३ दिन सन् १९७९ मा रेकर्ड भएको थियो भने सबैभन्दा लामो अवधिको १३४ दिन सन् २०२२ मा रेकर्ड भएको थियो । हालसम्म सबैभन्दा चाडै सन् १९९६ को मे ३१ मा र सबैभन्दा ढिलो सन् १९८२ को जुन २७ मा मनसुन भित्रिएको थियो । सबैभन्दा छिटो सन् १९९५ सेप्टेम्बर २ मा र सबैभन्दा ढिला सन् २०१४ अक्टोबर १९ मा मनसुन बाहिरिएको थियो ।