काठमाडौँ, २७ वैशाख : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताउनुभएको छ ।
काठमाडौँको नागार्जुन नगरपालिका–७ मा स्थापना भएको बद्रीनारायण धामको प्राणप्रतिष्ठा कार्यक्रममा आज सहभागी हुनुभएका मुख्यमन्त्री लामाले धार्मिक पर्यटकीय गन्तव्यका रूपमा बद्रीनारायण धामलाई अगाडि बढाउन प्रदेश सरकार लाग्ने बताउनुभयो ।
मुख्यमन्त्री लामाले बागमती प्रदेश सरकारले पर्यटकीय सम्भावना बोकेका क्षेत्रलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको भन्दै भर्खरै निर्माण भएको बद्रीनारायण धामलाई पनि पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने उल्लेख गर्नुभयो ।
उहाँले बद्रीनारायण धामको पूर्वाधार विकासमा बागमती प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो । “बोलेर होइन, काम गरेर देखाउने बेला आएको छ, यस धामको प्रवर्द्धनमा बागमती प्रदेश सरकारले काम गर्छ”, उहाँले भन्नुभयो ।
नारायण पोखरेल प्रतिष्ठानका अध्यक्ष एवं प्रमुख संरक्षक दिनबन्धु पोखरेलले धामको विकासका लागि स्थानीय तहसँगै प्रदेश सरकार र केन्द्रीय सरकारको साथ र सहयोग आवश्यक रहेको बताउनुभएको थियो । धामको विकासका लागि नारायण पोखरेल प्रतिष्ठानले काम गर्दै आइरहेको उहाँको भनाइ थियो ।