04/30/2025, 20:26:29

रेशम चौधरी थुनामुक्त हुँदै

©PHOTO CREDIT: ONLINEKHABAR

१७ वैशाख, काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी थुनामुक्त हुने भएका छन् । उनलाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न भन्दै बुधबार दिउँसो प्रज्ञा प्रतिष्ठान कमलादीबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ गरेलगत्तै डिल्लीबजार कारागारमा बुझाइएको थियो ।

चौधरीलाई सर्वोच्च अदालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि चौधरी पक्राउ परेका थिए । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपित रामचन्द्र पौडेलबाट यसअघि भएको आम माफीको निर्णय नै उल्ट्याइदिँदै पक्राउ गर्न पत्र काटेका थिए ।

विष्टको पत्र ‘अनधिकृत‘ रहेको पाइएपछि प्रहरीले विष्टलाई पक्राउ गरिसकेको छ । विष्ट पक्राउ गरेसँगै चौधरी डिल्लीबजार कारागारबाट छुट्ने भएका हुन् । सर्वोच्च अदालतले चौधरीलाई थुनामुक्त गर्न प्रहरीलाई पत्र पठाइसकिएको सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । २०८० जेठ १४ राष्ट्रपतिद्वारा दिइएको आममाफीको निर्णयविरुघ परेको रिट सर्वोच्चमा विचारधीन छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा हुनै लाग्दा चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ लगत्तै उनलाई डिल्लीबजार कारागारमा बुझाइएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ