५ भदौ, काठमाडौं। साफ यु-२० च्याम्पियनसिपमा भुटानले माल्दिभ्सलाई २-१ ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एको खेलमा भुटानका लागि जितसुन दोर्जी र नेवाङ छोपेलले गोल गरेका हुन् । माल्दिभ्सका लागि इसाफू फिराकले गोल फर्काएका थिए । खेलको २२औं मिनेटमा जितसुन दोजीले गोल गर्दै भुटानलाई पहिलो हाफमा १-० को अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको भुटानले दोस्रो हाफमा भने सुरुवाती १० मिनेटमा नै गोल बेर्होन पुग्यो ।
पहिलो रोजाइमा मैदान उत्रिएका गोलकिपर रिनझिम सोनाम तेन्जिङले खेलको ५१औं मिनेटमा बल रोक्ने क्रममा पेनाल्टी बक्स बाहिर ह्यान्डबल हुँदा रातो कार्ड खाँदै मैदानबाट बाहिरिन पुगे । त्यसपछि १० खेलाडीमा सिमित भएको भुटानको टिमका लागि साङ्गे छोपाललाई प्रतिस्थापन गर्दै दोस्रो गोलकिपर निमा लोत्से मैदान प्रवेश गरेका थिए ।
खेलको ५४औं मिनेटमा इसाफू फिराकले डि बक्स बाहिरबाट फ्रि किकलाई गोलमा परिणत गर्दै माल्दिभ्सलाई बराबरीमा ल्याएका थिए । निर्धारित समयको अन्तिम मिनेटमा नगावाङ छोपालले गोल गर्दै भुटानलाई जित दिलाएका हुन् । यसअघि भुटानले पहिलो खेलमा भारतसँग १-० ले पराजित भएको थियो ।