04/24/2025, 11:07:45

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन


वीरगञ्ज (पर्सा), ११ वैशाखः बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाँले चालु आर्थिक वर्षको वैशाख पहिलो सातासम्ममा रु सात करोड ३६ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले सङ्कलन गर्ने राजस्व पछिल्लो समय उत्साहजनक ढङ्गले वृद्धि भइरहेको र यस अवधिसम्म रु सात करोड ३६ लाख ५७ हजार ६७५ राजस्व सङ्कलन भएको जानकारी दिनुभयो । “कार्यालयले साउनदेखि माघको पहिलो सातासम्म रु चार करोड ३० लाख राजस्व सङ्कलन गरेको थियो । त्यसयता वैशाखको पहिलो सातासम्म रु तीन करोड छ लाख ५५ हजार राजस्व सङ्कलन भएको छ । पछिल्ला महिनामा राजस्व सङ्कलनको दर क्रमशः वृद्धि हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो ।

कार्यालयका अनुसार तीन महिनायता प्रतिमहिना औसतमा रु एक करोड दुई लाख रकम राजस्व सङ्कलन हुँदै आएको छ । कार्यालयले आन्तरिक सुशासन र सेवाप्रवाहलाई चुस्त बनाएसँगै राजस्व सङ्कलन बढेको जनाएको छ । यस रकममध्ये सबैभन्दा धेरै राजस्व चालक अनुमतिपत्र, सवारीदर्ता किताबसम्बन्धी दस्तुरबाट रु तीन करोड ५४ लाख ४० हजार ५६ र सवारीसाधन करबाट रु तीन करोड ४० लाख ३९ हजार ९४३ रकम राजस्व सङ्कलन भएको छ ।

यातायात क्षेत्रको आम्दानीबापत रु ४० लाख ८४ हजार ५४० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । अन्य प्रशासनिक सेवा शुल्कबापत रु २५ हजार ५०० र बेरुजुबापत रु ६७ हजार ३३६ रकम सङ्कलन भएको छ । कार्यालयले चालु आवमा करिब रु १० करोड राजस्व सङ्कलन हुने अनुमान गरेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ