काठमाडौँ, १४ फागुनः ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का लागि हङकङबाट प्रतिभा छानिए । गायनतर्फ छानिए अनुपकुमार बराइली, बिन्नी लामा राई, टोपराज तामाङ, डिकेश तामाङ र सौरभ पाख्रिन तामाङ , नृत्यतर्फ अञ्जली पुन, रिस्ता गुरुङ, युविका राना, आयुष्मा राई र दीक्षा गुरुङ छानिए । गायन तथा नृत्यमा आधारित रियालिटी सो ‘मेरो भ्वाइस युनिभर्स’ तथा ‘मेरो डान्स युनिभर्स’ सिजन–२ का लागि हङकङ अडिसनबाट आठ जना छानिएका छन् । काठमाडौंमा आयोजना हुने प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।
इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ ले काठमाडौंमा आयोजना गर्ने यी रियालिटी सोका लागि फेब्रुअरी १५ मा हङकङको जोर्डनस्थित ब्लु ओसन रेष्टुराँको सभाहलमा अडिसन आयोजना गरिएको थियो । खुसी इभेन्ट्सकी प्रबन्ध निर्देशक खुसी गुरुङ, संयुक्त डान्स स्टुडियोकी सञ्चालिका सुकु लिम्बू र डिभाइन डान्स स्टुडियोकी संस्थापक सोफिया गुरुङको संयोजनमा यी दुई रियालिटी सोको अडिसन कार्यक्रम सम्पन्न भएको हो ।
अडिसनमा गायनतर्फ अनुपकुमार बराइली, बिन्नी लामा राई, टोपराज तामाङ, डिकेश तामाङ र सौरभ पाख्रिन तामाङ छानिएको खुसी इभेन्ट्स्की प्रबन्ध निर्देशक खुसीले जनाइन् । नृत्यतर्फ भने अञ्जली पुन, रिस्ता गुरुङ, युविका राना, आयुष्मा राई र दीक्षा गुरुङ छानिएको उनले बताइन् । अडिसनमा नृत्यतर्फ १४ जना तथा गायनतर्फ आठ जनाले सहभागिता जनाएका थिए । गायततर्फको अडिसनमा हङकङवासी गायक मनोज गुरुङ र गायिका सरला गुरुङ निर्णायक थिए । नृत्यतर्फको निर्णायकमा भने नृत्य निर्देशक तथा मोडल शंकर बीसी र कोरियोग्राफर तथा मिस लिम्बु ब्युटी कन्टेस्टका संस्थापक युगल पोमु थिए । बीसी अमेरिकाबाट आएका हुन् भने पोमु हङकङवासी हुन् ।
अन्तर्राष्ट्रियस्तरको नेपाली गायन तथा नृत्यमा आधारित रियालिटी सोका विजेतालाई एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ । दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः २५ तथा १० लाख रुपैयाँ प्रदान गरिने खुसीले जनाइन् । ‘मेरो डान्स युनिभर्स’ अन्तर्गत हरेक एपिसोडको सुरुवातमा प्रस्तुत गरिने सामुहिक नृत्य पनि प्रतियोगितात्मक हुने तथा विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तृतीय स्थान प्राप्त गर्ने टिमले ५ लाख रुपैयाँ पाउने उनले बताइन् ।
यी दुवै रियालिटी सोका लागि यति बेला विभिन्न देशमा अडिसन चलिरहेको छ । यी दुवै सोको पहिलो संस्करण सन् २०२३ मा आयोजना गरिएको थियो । यस वर्षको ‘मेरो भ्वाइस युनिभर्स’ मा दीप श्रेष्ठ, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान र अञ्जु पन्त निर्णायक छन् । ‘मेरो डान्स युनिभर्स’ को निर्णायकमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शिल्पा मास्के, शंकर बिसी, कविराज गहतराज र किरण थापा रहेको आयोजकले जनाएको छ ।
हङकङमा अश्मि गुरुङद्वारा सञ्चालन गरिएको अडिसनमा निर्णायक बीसीसँगै आयोजक संस्था इन्ट्राका सदस्य रोशन विष्ट, लालबहादुर तिवारी, सोनु तामाङ र अथिराज शिवाकोटीलगायतको सहभागिता थियो ।