सोमबार, फागुन १२, २०८१

काठमाडौं महानगरले मानवअधिकार आयोगलाई बुझायो सांसद शर्माविरुद्धको अनुसन्धान अभिलेख


काठमाडौँ, १२ फागुनः  लुम्बिनी प्रदेशकी सांसद रेखाकुमारी शर्माले नाबालिका बन्धक बनाएको घटनामा काठमाडौं महानगरपालिकाले राष्ट्रिय मानव अधिकार आयोगलाई १२० पृष्ठ लामो आफ्नो अनुसन्धान अभिलेख बुझाएको छ ।

महानगरपालिकाका बाल कल्याण अधिकारीसहितको टोलीले आइतबार आयोगका सचिव मुरारीप्रसाद खरेललाई अभिलेख बुझाएको हो । अभिलेख बुझ्दै सचिव खरेलले मानवअधिकार हननका घटनामा कुनै पनि व्यक्तिले सत्ता र राज्य शक्तिको दुरुपयोग गर्नु नहुने बताएका थिए । उनले बालबालिकालाई यस्ता घटनाको मारमा पर्न नदिन आयोग सचेत रहेको र निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाए ।

सरकार पक्षले मुद्दा नचलाउने निर्णय गरेपछि सांसद शर्मामाथि आयोगले अनुसन्धान थालेको थियो ।सो क्रममा आयोगले महानगरपालिकासँग सम्बन्धित कागजात माग गरेको थियो । महानगर प्रमुखको सचिवालयका सदस्य धीरज जोशीले यो प्रकरणमा महान्यायाधिवक्ताको समेत स्वार्थको द्वन्द्व रहेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले गत जेठ ३० गते बाल कल्याण अधिकारीमार्फत बालबालिकाविरुद्धको कसुर र दास बनाउन नहुने कसुरमा जाहेरी दर्ता गराएको थियो । तर सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय, पाटनले यस घटनामा शर्मामाथि मुद्दा नचलाउने निर्णय गरेका थिए ।

मानव अधिकार आयोगले अब अनुसन्धानलाई थप विस्तृत बनाउने जनाएको छ । आयोगले निष्पक्ष छानबिन गर्दै दोषीमाथि कानुनी कारबाहीको मार्ग तय गर्ने प्रतिवद्धता जनाएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ