सोमबार, फागुन १२, २०८१

कटारी गोल्डकपमा वीरगञ्जको विजयी सुरुआत


कटारी (उदयपुर), ११ फागुन : ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा वीरगञ्ज युनाइटेडले विजयी सुरुआत गरेको छ । आज भएको पहिलो खेलमा एनजे क्लब, सिन्धुलीलाई २–१ गोल अन्तरले पराजित गर्दै वीरगञ्जले विजयी सुरुआत गरेको हो ।

वीरगञ्जका लागि अन्जन बच्छारले २४ औँ मिनेटमा पहिलो गोल गरेका थिए । दोस्रो हाफको ३४ औँ मिनेटमा सिन्धुलीका लागि सञ्जिब धामीले गोल गर्दै खेल बराबरीमा ल्याए । तर खेलको ७४ औँ मिनेटमा वीरगञ्जका विक्रम थोकरले गरेको गोल निर्णायक बन्न पुग्यो ।

यो जितसँगै वीरगञ्ज सेमिफाईनल प्रवेश गरेको छ । विक्रम थोकर ‘म्यान अफ दी म्याच’ घोषित भए । उनलाई आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दिपक राईले नगद तीनहजार सहित मेडल प्रदान गरे ।

सोमबारको खेल च्याम्पियन ब्वाइज काठमाडौँ र सामत्से फुटबल क्लव भुटानबीच हुनेछ । कटारी नगरपालिकाको सहयोगमा शनिबारदेखि जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद तीन लाख हात पार्नेछ भने उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ ।

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुनेछ । खेल अवधिभरीका खेलाडीहरुले विधागत तर्फ उत्कृष्ट खेलाडी , उत्कृष्ट गोलरक्षक ,उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृृष्ट डिफेन्डरलाई प्रति विधा नगद पाँचहजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक समितिका उपाध्यक्ष राजकुमार थापाले जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ