काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले आज बुधबार फेरि ६० अर्ब रुपैयाँ झिक्न लागेको छ । अधिक तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।
डेढ वर्ष यता राष्ट्र बैंकले नियमित रूपमा बजारबाट पैसा झिकिरहेको छ । सोही क्रममा आज(बुधबार) पनि ६० अर्ब रुपैयाँ झिक्न लागेको हो । यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आव्हान गरेको छ ।
घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने पनि राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
राष्ट्र बैंकले बैंकहरुबीचको सापटी अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा तल झरेपछि विभिन्न उपकरणमार्फत बजारबाट पैसा झिक्छ । अन्तरबैंक ब्याजदर ६.५ प्रतिशत प्रतिशतभन्दा बढी भएपछि विभिन्न औजारहरूमार्फत राष्ट्र बैंकले बजारमा पैसा पठाउँछ । पछिल्लो डेढ वर्षयता अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम भएको भन्दै राष्ट्र बैंकले बजारबाट पैसा झिकिरहेको छ ।