आइतबार, फागुन ११, २०८१

राष्ट्रियसभा : इशरा र सरस्वतीको हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग


काठमाडौँ, २४ माघः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले इशरा र सरस्वती खड्काको हत्याका दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।

बैठकको शूल्य समयमा सांसद मदनकुमारी शाह (गरिमा) ले यही माघ ११ गते अछामस्थित ढकारी गाउँपालिकाका इशरा खड्का र सरस्वती खड्काको हत्यामा संलग्न दोषीलाई राजनीतिक संरक्षण दिएर जोगाउन नहुने धारणा राख्दै दोषीलाई यथाशीघ्र कानुनी कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

उहाँले भन्नुभयो, “गणतन्त्रमा महिला माथिका हिंसा निरन्तर बढ्दो क्रममा छन्, जुन दुःखदायी छ । यो सुशासनका लागि पनि चुनौतीपूर्ण छ, यही माग ११ गते अछामको ढकारी गाँउपालिकाका १४ वर्षीय इशरा र १५ सरस्वती खड्काको विभत्स हत्या भएको छ, दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गर्दछु ।

सांसद नारायणदत्त मिश्र ले भन्नुभयो, “पहाडी क्षेत्रका गाउँपालिका र नगरपालिकामा सडक विस्तारका नाममा डोजरको प्रयोग गर्दा स्थानीय मजदुर समस्यामा पर्नुका साथै बाढीपहिरोको जोखिम पनि बढिरहेकाले पहाडी जिल्लामा बाटो पु¥याउन प्रयोग गरिने डोजर रोक्नुपर्छ ।

सांसद नरबहादुर विष्ट ले दलित समुदायमाथि हुने जातीय भेद्भाव तथा छुवाछूत अहिलेको अवस्थामा पनि भइरहेकाले यसको अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने बताउनुभयो । “सर्लाहीस्थित बरथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम र सो नगरपालिका वडा नं १७ की नेहा रोनियारबीच अन्तरजातीय प्रेम विवाह भई जिल्ला अदालतमा दर्ता भएपछि सत्येन्द्रलाई अपहरण गरी लागुऔषधको मुद्दा लगाई प्रहरीले धरपकट गरेको छ । यो विषयमा सत्यतथ्य छानबिन गर्नुपर्छ । साथै निर्दोषमाथि हुने यस्ता कार्यप्रति निन्दा गर्न चाहान्छु”, उहाँले भन्नुभयो ।

सांसद भुवनबहादुर सुनार ले प्रहरीले अन्तरजातीय विवाह गर्ने सत्येन्द्रकुमार रामलाई बिना कारण हिरासतमा राखेर कुटपिट गरेको भन्दै आपत्ति जनाउनुभयो । “निर्दोष जोडीलाई सरकारले कुटपिट गरी झुटा मुद्दा लगाएर हैरानी दिएकामा घोर भत्र्सना गर्दछु । सत्यतथ्य तानबिन गरी कानुनी प्रक्रिया पालना गर्न/गराउन प्रहरी प्रशासन, स्थानीय तथा सङ्घीय सरकारसँग आग्रह गर्दछु ।

सांसद युवराज शर्मा ले बाँकेस्थित खजुरा गाउँपालिकामा दुई बिघा क्षेत्रफलमा निर्माण भएको जनक शिक्षा सामग्री केन्द्रलाई यथाशीघ्र सञ्चालनमा ल्याएर विद्यालयस्तरको पाठ्यक्रम छपाइ गर्नुपर्ने माग गर्नुभयो । सांसद राजेन्द्रलक्ष्मी गैरे ले गत असोज १२ गते आएको बाढीले इलाम बजार र पाँचथरको फिदिम बजारको खानेपानी आयोजनामा क्षति भएको भन्दै त्यसको व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..