आइतबार, माघ ०६, २०८१

मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ पुन: हलमा प्रदर्शन


काठमाडौँ, ६ माघः यस वर्ष अस्कर अवार्डमा नेपालबाट सिफारिस फिल्म ‘शाम्बाला’ हेर्न छुटाउनुभएको छ भने खुसीको खबर छ । हलमा रिलिज भएको केही महिनापछि मीनबहादुर भाम निर्देशित फिल्म पुन: हलमा प्रदर्शन हुने निश्चित भएको छ ।

क्यूएफएक्स, एफक्युब लगायतका केही मल्टिप्लेक्सले थिन्ले ल्हामो, सोनम तोप्देन स्टारर फिल्मलाई पुनः प्रदर्शनमा ल्याउन लागेका हुन् । आइतबारदेखि चावहिलस्थित एफक्युबमा प्रदर्शन पुनः सुरु भएको छ ।

एफक्युबले आइतबार र सोमबारका लागि शो सार्वजनिक गरेको छ । केही दिनमा क्यूएफएक्सले काठमाडौं र पोखराका हलमा फिल्म पुनः प्रदर्शनमा ल्याउने र शो सार्वजनिक गर्ने तयारी भइरहेको समेत निर्देशक भामले जानकारी दिए ।

यसअघि हलमा आउँदा हामीमध्ये धेरै जना विदेश दौडमा थियौं । धेरै दर्शकले समेत हेर्न नपाएको गुनासो गर्नुभएको थियो । यी कुरालाई मध्यनजर गर्दै फिल्म पुनः ल्याउन लागेका हौं,’ निर्देशक भामले भने ।

बर्लिन फिल्म फेस्टिभलको मुख्य विधामा छनोट हुने पहिलो नेपाली फिल्मको रुपमा कीर्तिमान रच्दै यो फिल्म अन्य ठूला फेस्टिभलमा समेत स्क्रिनिङ भएको थियो । यसले क्रिटिक्सबाट पनि उत्कृष्ट प्रतिक्रिया पायो । नेपालमा समेत यसले चर्चा बटुलेको थियो ।

फिल्मलाई अन्तर्राष्ट्रिय ओटीटी प्लाटफर्ममा समेत रिलिजमा ल्याउन लागेको निर्देशक भामले बताए । उनका अनुसार नेटफ्लिक्स र अमेजन प्राइममा फिल्म ल्याउन पहल भइरहेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading