शनिबार, पुष १३, २०८१

खेल र खेलाडीहरूको विकासमा मधेस प्रदेशले सहयोग गर्छ : मुख्यमन्त्री सिंह


जनकपुर, १२ पुस : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुर बोल्ट्सका विजयी खेलाडीलाई आज बधाई दिँदै खेल र खेलाडीहरूको विकास तथा प्रगतिका लागि सरकार सहयोग रहने बताउनुभएको छ ।

प्रथम नेपाल प्रिमियम लिग (एनपीएल) मा विजयी जनकपुर बोल्ट्सका खेलाडीको सम्मानमा आज जनकपुरधाममा निकालिएको शोभा यात्राका क्रममा मुख्यमन्त्री सिंहले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।

क्रिकेट खेलप्रति आकर्षण बढाउन तथा खेलको दिगो विकासका लागि वातावरण तयार गर्न ट्रफीसहितको खेलाडीलाई सवारी साधनमा पुष्पमाला, अबिर तथा रातो टीका लगाएर सम्मानका साथ जनकपुरधामको नगर परिक्रमा गराइएको छ ।

जनकपुरधामको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट सुरू भएको शोभा यात्रा जीरो माइल, चानु चोक, पिडारी चोक, रामानन्द चोक हुँदै जानकी मंन्दिरमा पुजाआजा गरी समापन भएको थियोे । जिल्ला क्रिकेट सङ्घ धनुषाद्वारा आयोजित सो शोभायात्रामा विभिन्न क्षेत्रका सामाजिक, व्यापारिक, धर्मिक तथा खेलसँग सम्बन्धित खेलाडी र आमजनताको सहभागिता थियोे ।

एनपिएलको फाइनलमा सुदूरपश्चिमलाई जनकपुर बोल्ट्सले पाँच विकेटले पराजित गरेको थियो । जनकपुर बोल्ट्सका खेलाडीसहितको ट्रफीलाई मधेस प्रदेशको विभिन्न जिल्लामा शोभायात्रा गराइनेछ ।

पुस १३ गते शनिबार जलेश्वर, सर्लाही तथा रौतटह जिल्लामा घुमाइने भएको छ । यसैगरी पुस १४ गते आइतबार बारा तथा पर्सा जिल्ला र १५ गते सोमबार सिरहा तथा सप्तरी जिल्लामा ट्रफीसहित घुमाइने भएको जनकपुर बोल्ट्स टिमले जानकारी दिएको छ ।

जनकपुर बोल्ट्सले प्रथम एनपिएल ट्रफी हात परेपछि मधेस प्रदेशका जिल्लाहरूमा खुसीको विशेष लहर देखिएकाले ट्रफीसहित खेलाडीलाई सम्मान गरिएको जिल्ला क्रिकेट सङ्घ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डेले बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading