मङ्गलबार, पुष ०९, २०८१
दक्षिण एशियाको विविध सामाजिक–सांस्कृतिक र भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्याङ्कन

जलवायुजन्य सङ्कटसँग लड्न टापु मुलुकहरु एकजुट हुनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ, २० मङ्सिरः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु न्यूनीकरण गर्न र जलवायुजन्य सङ्कटसँग जुध्नका लागि टापु मुलुकहरु एक हुनुपर्ने बताउनुभएको छ ।

आज काठमाडौँमा दक्षिण एशियाको विविध सामाजिक–सांस्कृतिक र भौगोलिक परिदृश्यमा जलवायु परिवर्तनका लागि घरपरिवारको अनुकूलन क्षमताको मूल्याङ्कन शीर्षकमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले जलवायुजन्य सङ्कटबाट बच्न एकजुट हुनुको विकल्प नभएको बताउनुभयो ।

नेपाल पनि जलवायु परिवर्तनको उच्च जोखिम भएका मुलुकमा पर्ने उल्लेख गर्दै उहाँले समयमै समस्या पहिचान गरेर ती समस्या समाधानका उपाय खोजिनुपर्नेमा जोड दिनुभयो । “बाढी, पहिरो, डुबान, हिउँ पहिरो, हिमताल विस्पोट जस्ता जलवायुजन्य विपद्का कारण ठूलो धनजनको क्षति भइरहेको छ । मलुकको अर्थतन्त्र ह्रास ल्याउन सक्छ”, उहाँले भन्नुभयो, “जलवायुजन्य यी र यस्ता सङ्कट समाधानका लागि भएका नीतिहरुको प्रभावकारी कार्यन्वयन हुनुपर्छ । सबैमा सहकार्य र एकता कायम गरी जलवायुले निम्ताउन सक्ने सम्भावित जोखिम न्यूनीकरणमा लाग्नुपर्छ ।

भण्डारीले जलवायु परिवर्तनको असरका कारण हिमालको हिउँ पग्लिएर कालापत्थरमा परिणत हुँदै गएको बताउनुभयो । उहाँले समयमै जलवायु परिवर्तनको असर न्यूनीकरणमा जुट्न नसके हिमाल र हिमाली क्षेत्रमा बसोबास गर्ने जनसमुदायको अस्तित्व नै मेटिएर धारणा राख्नुभयो । यसैगरी उहाँले समाजिक, आर्थिक पूर्वाधार विकास लगायतका क्षेत्रमा जलवायु परिवर्तनको असर परिरहेको उल्लेख गर्दै जलवायुमैत्री पूर्वाधार निर्माण हुनुपर्नेमा समेत जोड दिनुभयो ।

जलवायु परिवर्तनको असरले कृषि उत्पादनमा कमी भई खाद्य सङ्कट समेत निम्तन सक्छ, मानिसहरुको रोजिरोटी नै खोसिन सक्छ, जीवनशैलीमा प्रत्यक्ष असर गर्न सक्छ”, उहाँले भन्नुभयो, “अर्को समस्या भनेको कतिपय स्थानमा जलवायु परिवर्तनको असरले पानीको मुहान नै सुक्न गइ खानेपानीको चरम सङ्कट भोग्नुपरेको छ ।

जलवायुको खतराले गरिबीको दर बढ्नसक्ने भन्दै समयमा नै सचेत हुनुपर्ने भण्डारीको आग्रह छ । उहाँले जलवायु अनुुकुलनका क्षेत्रमा दिगो र प्रभावकारी अनुसन्धान गर्दै नीति तथा योजना कार्यान्वयन प्रभावकारी हुनुपर्नेमा समेत जोड दिनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीले पनि जलवायु परिवर्तनको बढ्दो असरले नेपाल जस्ता मुलुकहरुको राष्ट्रिय कुल ग्राहस्थ उत्पादन (जिडिपी) मा असर गरिरहेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले पनि जलवायु परिवर्तनको असर बढ्दा तापमान बृद्धि हुने, मनसुनी विपद्को घटना बढ्ने र धनजनको क्षति गर्ने, बसराइसराइ गराउने, खाद्य सुरक्षामा चुनौतीलगायतका समस्या उत्पन्न हुने भन्दै जलवायुका असरको बिषयमा अझै अनुसन्धान हुनुपर्नेमा जोड दिनुभएको छ ।

भूगोल केन्द्रीय विभागका प्राडा प्रेमसागर चापागाईले नेपाल, भारत, चीन र बङ्गलादेशका पाँच विश्वविद्यालयका अनुसन्धानकर्ताद्वारा गरिएको अध्यायनले जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा ह्रास आइ वैदेशिक रोजगारीमा जानेहरुको सङ्ख्या बढिरहेको बताउनुभएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading