काठमाडौँ, १९ मङ्सिर : कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिकामा सम्पन्न उपनिर्वाचनको परिणामले नेपाली कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश प्रवाह भएको बताउनुभएको छ । कीर्तिपुरमा आज आयोजित सभामा उहाँले कीर्तिपुरले राजनीतिक रूपमा देशलाई नै सन्देश दिएको बताउनुभयो ।
“राजधानीको कीर्तिपुरजस्तो ठाउँ, जहाँ विश्वविद्यालय छ । राजनीतिक रूपमा सचेत ठाउँ । यहाँबाट कांग्रेसको दिन अब झन् सुदृढ हुँदैछ भन्ने सन्देश गएको छ”, उहाँले भन्नुभयो, “नगर प्रमुख र दुई वटा वडाध्यक्षको नतिजाले कांग्रेस अहिले पनि जनताको हृदय र मनमा रहेछ भन्ने कुरा देखाएको छ ।”
कांग्रेसका पूर्वमहामन्त्री सिंहले कीर्तिपुरमा प्रमुखका लागि ११ जना रहे पनि पार्टीले उम्मेदवारको निर्णय गरेपछि सबै एकताबद्ध भएर लाग्दा परिणाम पार्टीका पक्षमा आएको भन्दै कांग्रेस एकताबद्ध भए नतिजा राम्रो आउँछ भन्ने कीर्तिपुर मोडल नै स्थापित भएको उहाँको भनाइ थियो ।
त्यस्तै, उहाँले पार्टीमा सङ्गठन गर्नेहरूले मौका पाइएन भनेर गुनासो गर्ने गरेको चर्चा गर्दै पार्टीमा धैर्यता गरे दिन आउने र त्यसको उदाहरण नगर प्रमुख कृष्णमान डङ्गोल भएको बताउनुभयो । “सङ्गठन गर्दाखेरि धैर्यता पनि राख्नुपर्ने रहेछ, पार्टीको सङ्गठनमा लागिरहनुपर्छ । धैर्यता राखेपछि मौका आउँछ”, उहाँले भन्नुभयो । कार्यवाहक प्रधानमन्त्री सिंहले कीर्तिपुरका नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक मुद्दाहरूलाई सम्बोधन गर्नेगरी काम गर्न सुझाव पनि दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















