सोमबार, पुष २२, २०८१

वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको एसपीपी सम्झौता गर्न सक्ने प्रचण्डको आशंका


२५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्न सक्ने आशंका गरेका छन् । विगतमा केपी शर्मा ओलीले सैद्धान्तिक सहमतिसमेत दिइसकेको भन्दै प्रचण्डले अब सम्झौता गर्न सक्ने आशंका गरे ।

आज बिहान मकवानपुरको हेटौंडामा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘एमसीसीभन्दा अझ गम्भिर प्रकृतिको अर्को चिज छ । एसपीपी भनिन्छ त्यसलाई । त्यो एसपीपीलाई पनि अहिलेका प्रधानमन्त्रीजीले अघिल्लोपटक नै सैद्धान्तिक सहमति दिइसकेको कुरा अमेरिकन मिडियाहरुमा आइसकेको छ र अमेरिकन सरकारले त्यसलाई आधिकारिक रुपले भनी पनि सकेको छ । यो गम्भिर चिन्ताको विषय छ ।

उनले थपे, ‘त्यसकारण यो सरकार नेपालको राष्ट्रिय स्वाधिनताको सौदाबाजी गर्ने, आफ्नो कुर्सि बचाउनको निम्ति राष्ट्रप्रति घात गर्नेतिर अगाडि बढ्ने त होइन ? सैद्धान्तिक सहमति आफैं पनि गम्भिर विषय हो । त्यसमा अब सम्झौतै गर्नेतिर जाने हो कि भन्ने स्थिति छ ।

पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता विषयहरुमा जनतालाई सुसूचित गराउने, सतर्क गराउन आवश्यकता रहेको समेत बताए ।

२०७९ असार २ गते पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओली नेतृत्वको तत्कालीन सरकारले नै एसपीपी सम्झौता गरेको आरोप लगाएका थिए भने तत्कालीन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यसलाई प्रमाणित गर्न प्रचण्डलाई चुनौती दिएका थिए । तर एसपीपीमा सहभागिताका लागि सरकारका तर्फबाट नेपाली सेनाले सन् २०१५ मा पत्र पठाएको थियो । त्यसपछि सन् २०१७ मा पनि अर्को फलोअप स्वरुप सोही व्यहोराको पत्र नेपाली सेनाले पठाएको थियो ।

त्यतिबेला यसबारे विवाद भएपछि नेपाली सेनाले २०७२ को भूकम्पका बेला क्षमता अभिवृद्धिका लागि मात्र अमेरिकी सेनाबाट सहयोग मात्र मागेको स्पष्ट पारेको थियो । तत्कालीन सैनिक प्रवक्ता नारायण सिलवालले भनेका थिए, ‘त्यतिबेला नेपाल महाभूकम्पबाट आक्रान्त थियो, उद्दार र राहतका लागि विभिन्न देशबाट सेना पनि आएका थिए । त्यतिबेला बाहिर देशको सेनाका सदस्यले नेपालमा वीरगति पनि प्राप्त गरेका थिए । त्यो सन्दर्भमा विपद्का बेला नेपाली सेना नै अन्तिम स्रोत रहेछ भन्ने भान भयो र क्षमता अभिवृद्धिका लागि सहयोग मागेका थियौं ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading