02/08/2026, 23:38:26
आइतबार, माघ २५, २०८२

वरिष्ठ कलाकार सुनिल थापाको अन्त्येष्टि


काठमाडौँ, माघ २५ : नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रमा लामो समयसम्म अतुलनीय योगदान पुर्‍याएका कलाकार सुनिल थापाको पार्थिव शरीरमा राष्ट्रिय सम्मानसहित अन्तिम दाह-संस्कार गरिएको हो ।

थापाको पार्थिव शरीरमा वरिष्ठ कलाकार निर शाह, सङ्गीतकार शम्भुजित बासकोटा, चलचित्र विकास बोर्डका प्रतिनिधि, कलाकार सङ्घ–संस्थाका पदाधिकारी, चलचित्रकर्मी तथा आफन्तजनले राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली सभामा सहभागीहरूले स्व थापाको कला यात्रालाई स्मरण गर्दै उनको योगदान नेपाली चलचित्र इतिहासमा सदैव अमर रहने उल्लेख गरे ।

उनको शनिबार बिहान हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अन्तरराष्ट्रिय अस्पतालमा निधन भएको थियो ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा पोस्टमार्टम सम्पन्न भएपछि आज उहाँको पार्थिव शरीर पशुपति आर्यघाट अन्त्येष्टि गरिएको हो ।

स्व थापाले नेपाली चलचित्र क्षेत्रमा दशकौँसम्म अभिनय गर्दै दर्जनौँ सफल चलचित्रमा स्मरणीय भूमिका निर्वाह गरेका थिए । उनको अभिनयले नेपाली चलचित्रलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिएको चलचित्रकर्मीहरूको भनाइ छ । थापाको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी, समर्पित र कर्मठ कलाकार गुमाएको भन्दै चलचित्रकर्मीहरूले यस क्षतिलाई अपूरणीय बताएका छन् ।