कञ्चनपुर, १३ कात्तिक : कृषिमा प्रयोग हुने उपकरण मर्मत गर्न दक्षजनशक्ति उत्पादन गरिएको छ । पावर टिलर, मिनी टिलर, पानी तान्ने मोटर, पम्पसेट मर्मत गर्न तीन जिल्लाका २५ युवालाई तालिम दिइएको हो ।
नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ(नामिया)को सहकार्यमा अमेरिकी सहयोग नियोग (युएसआईडी)को सहयोगमा स्थानीय प्राविधिकलाई कृषि तथा सिँचाइका यन्त्र मर्मत गर्नेसम्बन्धी तालिम दिइएको छ । आरसिटी मेसिनरी एण्ड इन्जिनियरिङ वर्कशप झलारीमा कैलाली, कञ्चनपुर र बर्दियाका युवालाई दश दिने तालिम दिइएको हो ।
सहभागीले कृषियन्त्र मर्मतसँगै थोपा सिँचाइ प्रविधिको प्रयोग र जडानसम्बन्धी सैद्धान्तिक र प्रयोगात्मक ज्ञान हासिल गरेको सङ्घका उपाध्यक्ष सुनिता न्हेमाफुकीले बताउनुभयो । उहाँकाअनुसार तालिममा २२ पुरुष र तीन महिला सहभागी थिए । तालिममा १० वटा सैद्धान्तिक र ३० वटा प्रयोगात्मक कक्षा सञ्चालन गरिएको थियो ।
वैदेशिक रोजगारबाट फर्केका महिला, सीमान्तकृत समूह तथा कृषि मेसिनरीसम्बन्धी सामान्य ज्ञान भएका युवा तालिममा सहभागी थिए । “स्थानीयस्तरमा तालिम दिएर दक्ष बनाइएका प्राविधिकले दिगो कृषि यान्त्रीकरणमा टेवा पु-याउने विश्वास लिएका छौँ”, उपाध्यक्ष न्हेमाफुकीले भन्नुभयो, “एक पालिका एक कृषि मेसिनरी वर्कसप स्थापना गर्ने उद्देश्य अनुरूप दक्ष जनशक्ति उत्पादनमा जोड दिएका छौँ ।”
तालिम यही कात्तिक ३ गते देखि सुरु भई १२ गते समापन गरिएको छ । तालिम समापनमा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यज्ञराज जोशीले दक्ष बनेका युवाले किसानलाई प्रभावकारी सेवा दिनुपर्ने बताउनुभयो । “मन्त्रालयबाट किसानलाई अनुदानमा २५ हजारको सङ्ख्यामा पावर टिलर र मिनी टिलर उपलव्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “दश हजार बढी सिँचाइका लागि प्रयोग हुने विद्युतीय मोटर र पम्पसेट उपलव्ध गराएका छौँ ।”
यसअघि ‘फिड द फ्युचर’ नेपाल र युएसआइडीको ‘एग्रीकल्चर इनपुटस’को आयोजनामा नेपालगञ्ज र धनगढीमा दुई वटा कृषि औजार मर्मत सम्भार सम्बन्धी तालिम सम्पन्न भइसकेका छन । तालिममार्फत ५० दक्ष जनशक्ति उत्पादन भएको जनाइएको छ ।