12/24/2025, 23:09:51
बुधबार, पुष ०९, २०८२
अर्काको तास हेर्न आँखामा लेन्स

ठमेलको वाल्डो क्यासिनोमा अवैध जुवा, छ जना भारतीय पक्राउ

जुवा खेल्न आउने व्यक्तिहरूका लागि हवाई टिकटदेखि खाना र बसोवासको सम्पूर्ण व्यवस्था गिरोहकै नाइकेले मिलाएको देखिएको प्रहरीले जनाएको छ ।


काठमाडौं, पुस ९ गते । काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधवार आयोजित पत्रकार सम्मेलनमार्फत अवैध क्यासिनो खेलाउने कार्यमा संलग्न छ जनालाई पक्राउ गरी परिसरको हिरासतमा राखिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै परिसरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भारतीय क्यासिनो इभेन्ट गिरोहका नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश वर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अवैध क्यासिनोको आवरणमा ठगी कार्यमा संलग्न नेपाली नागरिकसमेत थप सात जनाको पहिचान भइसकेको छ भने उनीहरूको खोजी कार्य जारी रहेको छ । क्यासिनोमा छापा मार्ने क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित उपकरण, लेन्स लगायत सामग्री प्रहरीले बरामद गरेको छ ।

अवैध जुवा खेलाउने गिरोहका मुख्य नाइके सुरेश महाजन भारतीय नागरिक रहेको र उनी ‘क्यासिनो इभेन्ट ग्रुप’ तथा ‘बीपी एन्ड महाकाय ग्रुप’ का सञ्चालकसमेत रहेको खुलेको प्रहरीले जनाएको छ । ती ग्रुपहरूले नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडिया लगायत देशहरूमा क्यासिनो इभेन्टका नाममा अवैध जुवा खेलाउँदै आएको पाइएको छ ।

प्रहरीका अनुसार बीपी एन्ड महाकाय ग्रुपअन्तर्गतका क्यासिनो प्लेयरहरू मंसिर २५ गते मात्र करिब ७० जना नेपाल आएका थिए । सो ग्रुपद्वारा सञ्चालन गरिएको इभेन्टमा अन्य ग्रुपहरू समेत सहभागी हुँदा करिब २०० जना भारतबाट नेपाल आएको खुलेको छ । जुवा खेल्न आउने व्यक्तिहरूका लागि हवाई टिकटदेखि खाना र बसोवासको सम्पूर्ण व्यवस्था गिरोहकै नाइकेले मिलाएको देखिएको प्रहरीले जनाएको छ ।

जुवामा हुण्डीमार्फत कारोबार हुने तथ्यसमेत फेला परेको भन्दै प्रहरीले अवैध जुवा खेलाउने कार्यले क्यासिनो पर्यटनमा नकारात्मक प्रभाव पारेको जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिनुभयो ।