12/20/2025, 22:25:05
शनिबार, पुष ०५, २०८२

नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ : माधवकुमार नेपाल

जनचाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अघि बढ्नेछौँ । हामीलाई एक पटक मौका दिनुस्, आजसम्म इमान्दारिताको राजनीतिलाई, देशभक्तिको भावनालाई, जनताका सेवाको भावनालाई ध्यानमा राखेर नै भूमिका खेल्दै आइरहेको छौँ । आगामी दिनमा थप सचेत भएर भूमिका निर्वाह गर्नेछौँ ।


काठमाडौँ, पुस ५ : नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचन मार्फत बहुमत दिन आग्रह गरेका छन् ।

नेकपाको बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देशसभामा शनिबार काठमाडौंमा सम्बोधन गर्दै उनले विगतका कमजोरीलाई सुधार्दै मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताए । सहसंयोजक नेपालले भने, ‘हामीले विगतमा खेलेको भूमिकाको मूल्यांकन गर्नुहोस्, नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भनेर स्वागत गर्नुहोस्, त्यसलाई स्वीकार्न हामी तयार छौं ।

उनले आसन्न निर्वाचनमार्फत जनताले नेकपालाई बहुमत दिएको खण्डमा आफ्नो पार्टीले जनअपेक्षा पूरा गर्ने विश्वास दिलाए । ‘जनचाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अघि बढ्नेछौँ । हामीलाई एक पटक मौका दिनुस्, आजसम्म इमान्दारिताको राजनीतिलाई, देशभक्तिको भावनालाई, जनताका सेवाको भावनालाई ध्यानमा राखेर नै भूमिका खेल्दै आइरहेको छौँ । आगामी दिनमा थप सचेत भएर भूमिका निर्वाह गर्नेछौँ ।

जेन-जी पुस्ताको भावना सुशासन कायम र भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रवृत्तिको विपक्षमा रहेजस्तै नेकपाका नेताहरूले पनि विगत लामो समयदेखि यस्तै प्रवृत्तिविरुद्ध जुध्दै आएका उनले जिकिर गरे । ‘त्यसका लागि हामीले तत्कालीन सरकारका प्रमुखलाई मागपत्र बुझाएका छौँ । सुशासनको पक्षमा आवाज बुलन्द गरेका छौँ‘,  सहसंयोजक नेपालले भने,  ‘त्यसकारण आज जेन-जी पुस्ताका साथीहरू नेकपामा समाहित भइरहनुभएको छ, नेकपामाथि गरेको त्यो विश्वासलाई कुठाराघात हुन दिँदैनौँ ।

नेकपाका नेता राजेन्द्र श्रेष्ठले निर्धारित मितिमै निर्वाचन हुनुको विकल्प नभएको जिकिर गर्दै संविधान संशोधनमार्फत जनताको अपेक्षा पूरा गर्नका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गरे ।

नेता जयपुरी घर्तीले जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई कुल्चेर मुलुकलाई प्रतिगमनतर्फ फर्काउने प्रयास नेकपाले सफल हुन नदिने बताइन् । जेन-जी प्रतिनिधि एवं विद्यार्थी नेता भूमिराज अधिकारीले जेन-जी पुस्ताको आवाज नेकपाले नै सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जनवादी कलाकारले नेपालको राजनीतिक परिवर्तन, जनताको आर्थिक, सामाजिक रुपान्तरणमा नेकपाले विगतदेखि खेल्दै आएको भूमिका र आगामी कार्यदिशासम्बन्धी गीतसंगीत प्रस्तुत गरेका थिए ।

सभाअघि नेकपाले काठमाडौंका विभिन्न चोकदेखि र्‍याली निकालेको थियो ।