काठमाडौँ, पुस १ : एमाले नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानलसहित उम्मेदवारी दिएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी एमालेको ११ औं महाधिवेशनको बन्दसत्रमा सोमबार ओली र पोखरेलसहित नेताहरूले विभिन्न पदमा उम्मेदवारी दर्ता गरेका हुन् । मंगलबार पदाधिकारीसहित केन्द्रीय कमिटीको निर्वाचन हुनेछ ।
दुई पटक पार्टीको नेतृत्व गरिसकेका ओलीले तेस्रो पटक अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेका हुन् । उनले आफ्नो टिमको महासचिवमा शंकर पोखरेललाई निरन्तरता दिएका छन् । पोखरेलले निरन्तरता पाएपछि उपमहासचिव प्रदीप ज्ञवालीले असन्तुष्ट हुँदै उपाध्यक्षमा उम्मेदवार हुन अस्वीकार गरेका छन् । उनले केन्द्रीय कमिटी सदस्यका लागि मात्र उम्मेदवारी दिएका छन् । ओली टिमको उपाध्यक्षका उम्मेदवारमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ छन् । पौडेल, थापा र बराल यसअघि पनि उपाध्यक्ष थिए । महासचिवको दाबी गरेका गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाइएको हो ।
ओली प्यानलतर्फ उपमहासचिवका उम्मेदवारमा रघुवीर महासेठ, लेखराज भट्ट र विष्णु रिमाल छन् । रिमाल यसअघि पनि उपमहासचिव थिए भने महासेठ र भट्ट सचिव थिए । ओलीले प्रारम्भिक सूचीमा भट्टलाई सचिवको उम्मेदवार बनाएका थिए । तर उनले अस्वीकार गरेपछि उपमहासचिवमा उठाउने तयारी गरिएका भानभुक्त ढकाललाई सचिवको उम्मेदवार बनाई भट्टलाई उपमहासचिवको उम्मेदवार बनाइएको हो ।
ओली टिमका सचिव उम्मेदवारमा भानुभक्त ढकाल, पद्मा अर्याल, छविलाल विश्वकर्मा, खगराज अधिकारी, यामलाल कँडेल, शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराई छन् । पद्मा अर्याल र छविलाल विश्वकर्मा यसअघि पनि सचिव थिए । सचिवका उम्मेदवार हिक्मत कार्की कोशी, यामलाल कँडेल कर्णालीका मुख्यमन्त्री हुन् । शेरधन राई कोशी र खगराज अधिकारी गण्डकीका पूर्वमुख्यमन्त्री हुन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारको रुपमा टंक कार्की र भीम आचार्यले पनि उम्मेदवार दिएका छन् ।
ओलीनिकट स्थायी कमिटी सदस्य अग्नि खरेलले प्यानलमा नपरेपछि सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले ओली पक्षबाट सचिवमा दाबी गरेका थिए । ‘म प्यानलमा नपरे पनि सचिव पदमा उम्मेदवारी दिएको छु,’ उनले भने, ‘मलाई साथीहरूको साथ छ ।’ ओली प्रधानमन्त्री हुँदा खरेल विज्ञ सल्लाहकार थिए ।
सचिवमा दाबी गरेका लालबाबु पण्डित र राजेन्द्र गौतम पनि ओली प्यानलमा परेनन् । गौतमले उपमहासचिवा उम्मेदवारी दिएका छन् भने पण्डितले सचिवमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । गौतम प्रचार विभाग प्रमुख र पण्डित सम्पर्क विभाग प्रमुख थिए । एमालेका पूर्वउपाध्यक्ष एवं सभामुख सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पनि ओली टिममा अटाएनन् । उनले खुलातर्फ उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीबाट एमालेमा फर्किएकी रामकुमारी झाँक्रीले संस्थापनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी छन् ।
अध्यक्षका अर्का उम्मेदवार ईश्वर पोखरेल पनि प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । पोखरेलको टिमबाट उपाध्यक्ष उम्मेदवारमा गोकर्ण विष्ट, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ र अरुण नेपाल छन् । एक उपाध्यक्षमा उम्मेदवार उठाइएको छैन । विष्ट यसअघि सचिव थिए । दानमा केन्द्रीय कार्यालय बनाउने निर्णयको विरोध गरेपछि बिन्दा पाण्डे निलम्बनमा परेकी थिइन् । महासचिवमा सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन् । यसअघि उनी उपाध्यक्ष थिए ।
सचिव रहेका योगेश भट्टराईले पोखरेल पक्षबाट उपमहासचिवमा उम्मेदवारी दिएका छन् । अरू दुई उपमहासचिवमा आनन्द पोखरेल र वैजुनाथ चौधरी छन् । पोखरेल पक्षबाट सचिव पदका लागि ८ जनाले उम्मेदवारी दिएका छन् । गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, रचना खड्का, पुरुषोत्तम पौडेल र इन्द्रलाल सापकोटाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनुअघिसम्म श्रेष्ठ ओली खेमामा थिए । २०७८ मा चितवनमा भएको १० औं महाधिवेशनमा बाँस्कोटा, श्रेष्ठ र थापा पनि ओलीनिकट थिए । २०७४ मा ओली प्रधानमन्त्री हुँदा बाँस्कोटा सञ्चारमन्त्री थिए ।
नेता पोखरेलले पार्टीलाई विधि र पद्धतिअन्तर्गत चलाउन आफू अध्यक्षको उम्मेदवार बनेको बताए । ‘पार्टीलाई सांगठनिक, वैचारिक र कार्यशैलीका आधारमा पुनः व्यवस्थित गर्नुपर्ने आवश्यकता छ, त्यसैका लागि मेरो उम्मेदवारी हो,’ उनले भने । आन्तरिक प्रतिस्पर्धालाई अस्वाभाविक रूपमा लिन नहुने उनको भनाइ थियो ।
महासचिवका उम्मेदवार शंकर पोखरेलले राजनीतिक संकट सामना गर्न अध्यक्ष ओलीको बलियो टिम बनाउनुपर्ने भएकाले आफूले उम्मेदवार दिएको बताए । ‘चुनौतीलाई सामना गर्न पार्टी एकताबद्ध हुनुपर्छ भन्ने आधारमा हामी अघि बढ्न खोजिरहेका छौं,’ उनले भने । महासचिवका अर्का उम्मेदवार सुरेन्द्र पाण्डेले पार्टी जीवनमा लोकतन्त्रको पुनर्बहाली, विधिको स्थापना र संगठनको पुनःसंरचना गर्नु आफ्नो उद्देश्य भएको बताए । ‘सशक्त पार्टी बनाउन, विधि पद्धति बसालेर पार्टी जीवनमा लोकतन्त्र बलियो बनाउन मेरो उम्मेदवारी हो’ उनले भने ।
उपमहासचिवका उम्मेदवार योगेश भट्टराईले जेन–जी विद्रोहपछि मुलुकमा ठूलो राजनीतिक परिवर्तन आएको उल्लेख गर्दै यस्तो अवस्थामा पुरानै नेतृत्वले पार्टीलाई सम्हाल्न नसक्ने बताए । ‘पार्टीको पुरानै नेतृत्वले फेरि सम्हाल्न सक्ने अवस्था छैन,’ उनले भने, ‘नेतृत्वप्रति धेरै प्रश्न उठेका छन् । त्यसकारण नेतृत्व हस्तान्तरण गर्दै नयाँ टिमका साथ एमालेलाई अगाडि बढाउनुपर्छ ।’
३०१ पदका लागि ६०३ उम्मेदवारी
निर्वाचन आयोगका सदस्य सानुराज पोखरेलका अनुसार केन्द्रीय कमिटीको ३०१ पदका लागि ६०३ उम्मेदवारी परेको छ । पदाधिकारीतर्फ अध्यक्ष (१) मा २, उपाध्यक्ष (५) मा ११, महासचिव (१) मा २, उपमहासचिव (३) मा ७, सचिव (९) मा २० जनाले उम्मेदवारी दिएका छन् । पदाधिकारीमा उम्मेदवारी दर्ता गरेका नेताहरूले केन्द्रीय सदस्यमा पनि मनोनयन गराएका छन् ।
मुस्लिम महिला कोटामा खाजिदा खातुन सिद्धिकी र प्रवास दक्षिण एसियामा हरिप्रसाद घिमिरे निर्विरोध चयन भएका छन् । अनुशासन आयोगमा अध्यक्ष प्राडा भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा राजेश घिमिरे निर्विरोध चयन भएका छन् । पिछडिएको क्षेत्र महिला कोटाबाट बदमी कुमारी बुढा पनि निर्विरोध चयन भएकी छन् । यस्तै, लेखा आयोगको अध्यक्ष पुष्पराज कँडेल, उपाध्यक्ष धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल निर्विरोध भएका छन् । केन्द्रीय सदस्य ४० वर्ष मुनिका तर्फ नरेश रोकाया र सुशीलकुमार थापा पनि निर्विरोध चयन भएका छन् ।
महाधिवेशन निर्वाचन आयोगका अनुसार ३ सय १ सदस्यीय केन्द्रीय कमिटीको संरचना ‘क्लस्टर’ तय गरिएको छ । यस पटक ४० वर्ष ननाघेका युवाका लागि केन्द्रीय कमिटीमा ५ प्रतिशत कोटा निर्धारण गरिएको छ, त्यो भनेको १५ जना हो । केन्द्रीय कमिटीमा पदाधिकारी १९ जनामध्ये अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, प्रदेश प्रतिनिधित्व उपत्यकासहित सबै ८ प्रदेशबाट ९ जनाका दरले (७२) जना रहनेछन् ।
यस्तै सबै प्रदेशबाट खुला ५, महिला ३ र युवा १ जना पनि हुनेछन् । खुला कोटाको १ सय २५ मा केन्द्रीय सदस्यमध्ये खुला ७१, महिला ५२ र युवा २ छन् । जनजाति/आदिवासी २५ मध्ये खुला १५, महिला ८ र युवा २ चयन हुनेछन् । त्यस्तै, मधेशी कोटामा १९ मध्ये खुला ११, महिला ६ र युवा २ नेता चयन हुनेछन् । प्रवास २ मध्ये भारतबाट १ र अन्य देशबाट १, श्रमिक ३ मध्ये खुला २ र महिला १, अपांगता भएका व्यक्ति १, दलित १२ मध्ये खुला ७, महिला ४ र युवा १ केन्द्रीय सदस्य रहनेछन् ।
थारू ‘क्लस्टर’ बाट ८ मध्ये खुला ५ र महिला ३, मुस्लिम समुदायबाट ५ मध्ये खुला ४ र महिला १ तथा पिछडिएको क्षेत्रबाट २ मध्ये खुला १ र महिला १ रहने गरी ‘क्लस्टर’ तय भएको छ । केन्द्रीय कमिटी ३ सय १ सदस्यीयको एक तिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी हुनेछ । त्यसैले अब १९ केन्द्रीय पदाधिकारी, ३३ स्थायी कमिटी र ९९ को पोलिटब्युरो हुनेछ ।
– गंगा बीसी, जयसिंह महरा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













