12/12/2025, 14:52:27
शुक्रबार, मङि्सर २६, २०८२

रौतहटमा ट्रक र कार ठोक्किँदा एक जना वृद्धको मृत्यु


रौतहट, मङ्सिर २६ : रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम तिरको पहिलो लच्का नजिकै पूर्वबाट पश्चिम जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रकमा विपरीत दिशा तर्फ आउँदै गरेको बा ३ च ६१९३ नम्बरको कार ओभर टेक गर्ने क्रममा शुक्रवार बिहान ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटनामा परी कारमा सवार वृद्धको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । डीएसपी रुपा लाबुङले मृतक वृद्धको नाम वतन खुल्न नसकेको बताइन् ।

डीएसपी लाबुङका अनुसार दुर्घटनामा परी बाराको निजगढ नगरपालिका घर भएका कार चालक दिनेश थपलियाको टाउको र अनुहारमा चोट लागेको छ । चन्द्रपुर–६ घर भएका डोरमणि सापकोटालाई चोट लागेको प्रहरीले जनाएको छ ।

घाइतेको चन्द्रनिगाहपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक मकवानपुर हेटौडा–७ का श्याम बहादुर तितुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

– शिव पुरी