12/12/2025, 14:50:23
शुक्रबार, मङि्सर २६, २०८२

महाधिवेशनअघि नै टिकट बाँड्ने देउवाको रणनीति, संस्थापन इतर पक्ष सशंकित


काठमाडौँ, मङ्सिर २६ : नेपाली कांग्रेसको संस्थापन पक्षले सभापति शेरबहादुर देउवाको नेतृत्वमा आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको कसरत सुरु गरेको छ।

निर्वाचन आयोगले पुस १८ र १९ गतेभित्र समानुपातिकतर्फका उम्मेदवारको सूची बुझाउनुपर्ने मिति तोकेको छ। तर कांग्रेस संस्थापन पक्षले माघ ६ गते हुने प्रत्यक्षतर्फको मनोनयनअघि नै उम्मेदवार टुङ्ग्याउने गरी अघि बढेपछि संस्थापनइतर पक्ष सशंकित बनेको छ।

केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले पुस २६–२८ गते केन्द्रीय महाधिवेशन गर्ने तालिका पारित गरेको छ। समानुपातिक सूची पुस १८–१९ मै बुझाउनुपर्ने र राष्ट्रियसभाको मनोनयन पुस २३ मा हुने भएकाले ती दुवै महाधिवेशनअघि नै टुङ्ग्याउनुपर्ने बाध्यता छ। तर संस्थापन पक्षले प्रत्यक्षतर्फका उम्मेदवारको नाम पनि एकै पटक सिफारिस गराएर महाधिवेशनअघि नै टिकट वितरण गर्ने रणनीति बनाएपछि इतर पक्ष सशंकित बनेको हो।

पार्टी विधानअनुसार दुई कार्यकालभन्दा बढी सभापति हुन नपाइने प्रावधानका कारण देउवा १५औं महाधिवेशनपछि सभापतिबाट बहिर्गमन हुनेछन्। उनी १३औं र १४औं महाधिवेशनबाट सभापति निर्वाचित भएका थिए। यद्यपि, संसदीय राजनीतिमा आफ्नो सक्रियता कायम राख्न देउवा यस पटक आफ्नै हस्ताक्षरमा टिकट वितरण गर्न चाहन्छन्।

महाधिवेशन र टिकट वितरणलाई सँग-सँगै अघि बढाउने योजना बनाएको उनी निकट नेताहरू बताउँछन्।पार्टीमा लामो समयदेखि चल्दै आएको ‘निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि ?’ भन्ने विवादको मूल मुद्दा नै कसले टिकट बाँड्ने भन्ने थियो।

उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर देउवा बैठकको अध्यक्षता छोडेर हिँडेका थिए। तर उनले मंसिर ७ गते निर्वाचन आयोगमा आफ्नै नाम र हस्ताक्षरमा दल दर्ता गराएका छन्।

महामन्त्री गगन थापाविश्वप्रकाश शर्मा दुवैले ‘नयाँ नेतृत्वको हस्ताक्षरमा मात्रै टिकट वितरण हुन्छ’ भन्दै आएका थिए। तर देउवाले कार्यवाहक सभापतिको नाम र हस्ताक्षर नपठाई आफ्नै पठाउनु, फेरि संसदीय चुनावमा अघि सर्नु र टिकट वितरणमा सक्रियता देखाउनुले थापा थप सशंकित बनेका छन्।

महामन्त्री थापाले मंसिर ८ गते दिउँसो २ बजे सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ‘वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा पार्टीले चुनाव लड्दैन, नयाँ नेतृत्वको हस्ताक्षरमा मात्रै लड्छ’ भनेका थिए।

उनले लेखेका थिए, ‘बिहानैदेखि धेरै साथीहरूले सोधिरहनुभएको छ − पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ? मैले भने − होइन। साथीहरूले फेरि सोध्नुभयो − कसरी ? मैले भने − प्रस्ट छ, अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ। त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ। नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्याएर निर्वाचन आयोगमा जान्छ। नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ। यही कारण हो, हामीले निर्वाचनअघि नै विशेष महाधिवेशन भनिरहेका छौँ। अब विशेष महाधिवेशनको विकल्प छैन। कुरा स्पष्ट छ, अलमलमा नपर्नू।

तर महामन्त्री थापाले भनेजस्तो विशेष महाधिवेशन नभई नियमित महाधिवेशनको तालिका मात्रै तोकिएको छ। एकातिर तोकिएकै मितिमा महाधिवेशन हुने–नहुने अन्योल कायम छ भने अर्कोतिर आफ्नै नेतृत्वमा टिकट बाँड्न सके महाधिवेशनमा पनि संस्थापन पक्षलाई लाभ हुने र पछिल्लो संसदीय राजनीतिमा आफ्नो पकड कायम रहने रणनीतिका साथ देउवा सक्रिय रहेको उनी निकट नेताहरू बताउँछन्।

केन्द्रको सर्कुलरअनुसार देशभरका क्षेत्रीय कार्यसमितिले समानुपातिक, प्रत्यक्ष र राष्ट्रियसभाका उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन्। प्रत्यक्षतर्फ सभापति देउवाको नाम डडेलधुराबाट, कार्यवाहक सभापति खड्काको सुर्खेत–१ बाट, महामन्त्री थापाको काठमाडौँ–४ बाट, डा. शेखर कोइरालाको मोरङ–६ बाट, महामन्त्री विश्वप्रकाश शर्माको झापा–१ बाट एकल सिफारिस भएको छ।

त्यस्तै पूर्व उपसभापति विमलेन्द्र निधिको धनुषा–३ बाट र व्यवसायी सुनिल शर्माको मोरङ–३ बाट एकल सिफारिस भएको छ।महामन्त्री थापाको नाम रोल्पा र धनकुटाबाट पनि सिफारिस भएको छ। पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा कैलाली–५ बाटै उठ्ने तयारीमा छिन् तर सर्वसम्मत सिफारिस हुन सकिनन्। यो क्षेत्रबाट डिल्लीराज पन्त, नृपबहादुर ओड र नरनारायण शाहको नाम पनि सिफारिस भएको छ।

प्रवक्ता डा. प्रकाशशरण महतले मंसिर १५ को निर्णयअनुसार नै तीन वटै निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न सर्कुलर गएको बताए। ‘समानुपातिकसँगै प्रत्यक्षतर्फका उम्मेदवार पनि सिफारिस गर्न भनिएको छ। पहिले अन्तिम समयमा मात्रै टुंगिने भएकाले यस पटक समयमै गर्न सकिन्छ कि भनेर गरिएको हो,’ उनले भने, ‘सकेसम्म चाँडो उम्मेदवार टुङ्गियो भने उम्मेदवारलाई तयारी गर्न पनि सहज हुन्छ।

प्रतिनिधिसभाको समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी क्षेत्रीय कार्यसमिति नै मुख्य निर्णायक हो। आकांक्षीहरूले क्षेत्रीय बैठकमा दाबी पेस गर्छन्। तीन जनाभन्दा बढी आकाङ्क्षी भए सहमतिमा नभए बहुमतले तीन जनाको नाम सिफारिस गर्छन्।

क्षेत्रीय समितिको सिफारिस जिल्ला र प्रदेश हुँदै केन्द्रमा पुग्छ र सभापतिको अध्यक्षतामा गठन हुने संसदीय बोर्डले अन्तिम टुंगो लगाउँछ।महाधिवेशन तालिकाअनुसार पुस २१ गते क्षेत्रीय अधिवेशन हुँदै छ। नयाँ निर्वाचित क्षेत्रीय समितिले पुरानो समितिको सिफारिस मान्ने कि नमान्ने भन्ने गम्भीर प्रश्न उठ्न सक्ने डा. शेखर कोइराला निकट नेता हृदयराम थानी बताउँछन्।

निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि भन्ने विवादको मुख्य लफडा संस्थापन पक्षलाई टिकट बाँड्ने अधिकार रहन्छ कि रहन्न भन्ने थियो,’ थानी भन्छन्, ‘नयाँ नेतृत्व आएपछि मात्रै टिकट बाँड्नुपर्छ भन्ने हाम्रो मुख्य माग हो। पुरानो क्षेत्रीय समितिको सिफारिस नयाँ समितिले स्वीकार गर्छ वा गर्दैन भन्ने विवाद पछि पनि उठ्न सक्छ।

विशेष महाधिवेशन पक्षधर नेताहरूले वर्तमान नेतृत्वबाट टिकट बाँडिए चुनावै नलड्ने चेतावनी दिँदै आएका छन्। विशेष महाधिवेशन पक्षधर नेता सुवास नेम्वाङ (पोखरेल ) ले अहिले पनि नियमित महाधिवेशन हुने निश्चित नभएकाले केही समय हेर र पर्खको रणनीतिमा रहेको बताए। तर प्रत्यक्षतर्फको उम्मेदवारी नयाँ नेतृत्वबाटै हुने उनको दाबी छ।

तोकिएकै मितिमा नियमित महाधिवेशन हुनेमा शंका छ। पुस ८–१० गतेसम्म पर्खन्छौँ। त्यसपछि प्रस्ट हुन्छ,’ उनले भने, ‘नियमित महाधिवेशन नहुने बित्तिकै हामी विशेष महाधिवेशनका लागि अघि बढ्छौँ। हाम्रो विशेष महाधिवेशनको माग जिउँदो छ, विचाराधीन छ, मृत भएको छैन। निर्वाचनअघि नै नेतृत्व परिवर्तन हुन्छ।

– कुलचन्द्र न्यौपाने