जनकपुरधाम, मङ्सिर २० : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले मधेशमा कृषि क्रान्ति गरेर कृषिमा आमुल परिवर्तन गर्नु जरुरी भएको बताउनुभएको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा शनिबार भएको नेकपा मधेश प्रदेशस्तरीय एकता सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले कृषि क्षेत्रमा देखिएका विभिन्न खालका समस्या समाधानका लागि यस क्षेत्रमा नयाँ आधुनिक तबरले कृषि क्रान्ति हुनु जरुरी रहेको बताउनुभयो। उहाँले कृषिमा आधुनिकिकरण गरी उत्पादकत्व वृद्धि गर्नुका साथै रोजगारीको सिर्जना गर्नका लागि पनि कृषि क्रान्तिको आवश्यकता भएको उल्लेख गर्नुभयो। प्रचण्डले भन्नुभयो, ‘मधेशमा कृषि क्रान्ति गर्न सके सिंगो नेपालमा आर्थिक क्रान्ति हुन्छ।’
नेकपाका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले १६ वटा पार्टी एक ठाउँमा आएर बनेको पार्टीको मान्यता युवामा निहित रहेको र सयौंको संख्यामा जेन-जी पुस्ता यस पार्टीमा प्रवेश गरेको बताउनुभयो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले हरेक किसिमका मुक्तिका लागि समाजवाद आवश्यक भएको भन्दै समाजवाद ल्याउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो।
पूर्व मन्त्री महेन्द्रराय यादवको अध्यक्षतामा सम्पन्न भएको सभालाई नेकपा नेता नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ सहितले सम्बोधन गर्नुभयो।
– धर्वेन्द्र झा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











