12/12/2025, 14:50:49
शुक्रबार, मङि्सर २६, २०८२

सञ्चारमन्त्री खरेलको पहल : यसरी सम्भव भयो पत्रकार सुरेश रजकलाई सहिद घोषणा


काठमाडौँ, मङ्सिर २६ : विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका लागि बिहानैदेखि घरमा चहलपहल थियो । भोजमा सबै परिवार र आफन्तलाई निमन्त्रणा गरिएको थियो ।

एभिन्यूज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजक भने हरेक दिनझैँ आफ्नो कार्ययोजनाबारे श्रीमती सुजन मगियालाई जानकारी गराउँदै तीनकुनेमा आयोजना हुने राजतन्त्र समर्थकहरूको विरोध प्रदर्शनको श्रव्यदृश्य कैद गर्न घरबाट निस्किनुभएको थियो । बिहान सवा ६ बजे घर छाड्दा सुरेशले श्रीमतीलाई भन्नुभएको थियो, “म आन्दोलनमा जाँदैछु, जात्राको पनि फोटो–भिडियो खिचेर चाँडै फर्किन्छु ।

सुजनले पनि आफ्ना श्रीमान सुरेशलाई भन्नुभएको थियो, “आन्दोलनको अगाडि–अगाडि नजानु है, चाँडै फर्कनु ।” तर यही संवाद दम्पतीबीचको अन्तिम कुराकानी बन्न पुग्यो ।

सुजनका अनुसार सुरेशलाई कामप्रति अतुलनीय लगाव थियो । त्यस दिन उहाँको अनुहार केही मलिन देखिएको सुजनले सम्झिइन् । एभिन्यूजमा कार्यरत भान्जा राजेश रजकले ‘किन यति थकित र ?’ भनेर सोध्दा सुरेशले ‘रातभर ननिदाएको’ जवाफ दिनुभएको रहेछ ।  सुजन भन्नुहुन्छ, “उहाँ हरेक दिन घरबाट निस्कँदा टर्निङमा पुगेर टाउको हल्लाएर बिदाइ सङ्केत गर्नुहुन्थ्यो । तर त्यो दिनको बिदाइ अन्तिम रहेछ ।

सुरेशले आगलागीमा परेर ज्यान गुमाउनुभयो । तीनकुनेमा प्रदर्शन उग्र बन्दै गइरहेको थियो । सुरेशका दाइ दिनेश रजकसमेत प्रदर्शनस्थल नजिकै दृश्य कैद गर्दै हुनुहुन्थो । झडपपछि प्रदर्शनकारीले नजिकैको घरमा आगो लगाइदिए । भित्रको अवस्थाबारे कसैलाई थाहा थिएन । दिनेश भन्नुहुन्छ, “मैले बाहिरबाटै आगलागीको दृश्य खिचिरहेको थिएँ । सुरेश त्यही घरभित्र जलेका रहेछन् भन्ने थाहा नै भएन ।

पहिलो दमकलले आगो नियन्त्रण गर्न सकेन । त्यसपछि थप दमकल आउँदा मात्र आगो निभाइयो । अनुसन्धानमा पछि खुल्यो– दृश्य कैद गर्ने क्रममा सुरेशको सोही जलेको घरभित्र अड्किएर मृत्यु भएको रहेछ ।

सरकारको निर्णय : सहिद घोषणा

दिवङ्गत पत्रकार सुरेशलाई यही मङ्सिर २२ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राज्यका तर्फबाट सहिद घोषणा गरेको छ । तीनकुनेको प्रदर्शनका क्रममा श्रव्यदृश्य कैद गर्दागर्दै मृत्यु भएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्न उहाँको परिवारले माग गर्दै आएको थियो । यो निर्णय सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको विशेष पहलमा सम्भव भएको परिवारजन बताउँछन् ।

सुजन मगिया भन्नुहुन्छ, “सहिद घोषणाले सुरेशले न्याय पाएको अनुभूति भयो । यसका लागि सरकार र मन्त्री खरेलप्रति आभार व्यक्त गर्छु ।” सात महिनासम्म न्याय खोज्दा निराश थियौँ तर नयाँ सरकारबाट आशा जगायो उहाँ भन्नुहुन्छ । “ परिवारले करिब सात महिना विगतका सरकार र सम्बन्धित निकाय धाउँदै न्यायको माग गरे तर सुनुवाइ भएन”, सुजन भन्नुहुन्छ, “अघिल्लो सरकारलाई धेरैपटक गुहार्न गयौँ, तर आश्वासनबाहेक केही पाइएन । अहिलेको सरकारले भने छोटो समयमा हाम्रो पीडा सुनेर न्याय दियो ।” उहाँका अनुसार मानवअधिकारवादी संस्थाहरूसँग पनि सहयोग माग्दा निराशामात्र हात परेको थियो ।

दिवङ्गत पत्रकार सुरेशका आफन्त पुरुषोत्तम मगियाले पनि सरकारले पत्रकार सुरेशलाई सहिद घोषणा गरेर न्याय दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको निर्णय स्वागतयोग्य छ, सञ्चारमन्त्री स्वयंले पेसागत जिम्मेवारी निर्वाहका क्रममा मृत्यु भएका पत्रकार सुरेशलाई सहिद घोषणा गर्ने कार्यलाई चासो लिएर पहलकदमी गरिदिनुभयो । उहाँको यस कार्यप्रति रजकको परिवार आभारी छ ।

सञ्चारमन्त्रीको सक्रियता

मन्त्री खरेलले गृह मन्त्रालयसँग निरन्तर समन्वय गर्दै, प्रधानमन्त्री र अन्य मन्त्रीहरूलाई विषयमा जानकारी गराउँदै सहिद घोषणाको प्रक्रिया अघि बढाउनुभएको थियो ।

यसभन्दा अघि पनि मन्त्रालयले सुरेशकी श्रीमती सुजनलाई सुरक्षण मुद्रण केन्द्रमा कम्प्युटर अपरेटर’का रूपमा रोजगारीको व्यवस्था मिलाइसकेको छ । सञ्चारमन्त्रीकै पहलमा सुरेशको परिवारले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन र दोषीमाथि कारबाहीको माग पुनः दोहोर्याएका छन् । उनीहरू विश्वासका साथ भन्छन्, “हाम्रो बाँकी माग पनि यही सरकारले मात्र पूरा गर्छ भन्ने आशा छ ।

सुरेशका दाइ दिनेश र अन्य आफन्तले पनि सरकारको निर्णयको स्वागत गर्दै मन्त्री खरेलको पहलप्रति आभार व्यक्त गरेका छन् ।