महोत्तरी,मङ्सिर २३ गते । सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आफूहरूको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् ।
“हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर प्रतिक्विन्टल रु ७५० पाउनुपर्छ भन्ने थियो । तर सरकारले मूल्य र अनुदान निर्धारणमा ६९० रुपैयाँ मात्रै निर्धारण गरिदियो”, उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने । उनका अनुसार मूल्य र अनुदानसमेत गर्दा गत वर्षभन्दा प्रतिक्विन्टल रु. ७० ले बढेको छ । सरकारले सोमबार चिनी उद्योगले दिने मूल्य प्रतिक्विन्टल रु. ६२० र सरकारले दिने अनुदान रु. ७० गरी जम्मा प्रतिक्विन्टल रु. ६९० निर्धारण गरेको छ ।
यतिबेला खुट्टी उखु (दोस्रो वर्षको बाली) चाँडै काटेर अन्य फसल समयमै लगाउन पर्ने दबाबले किसान अब चाँडै उद्योग सञ्चालन पर्खेर बसेका छन् । “अहिले हामीसँग मूल्यमा चित्त दुखाएर सरकारसँग निहुँ खोज्ने समय छैन, अब खुट्टी उखु काट्न ढिलाइ भए खेतबारी छ महिना बाँझै बस्ने चिन्ता छ”, भङ्गाहा–४ का किसान अरुण गिरी भन्छन्, “अब चाँडै उद्योग सञ्चालन होस् भन्ने हतारो छ ।” एकपटक लगाएर दुई वर्ष बाली लिन पाइने उखुको पहिलो वर्षको फसललाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । खुट्टी उखु काटेर पुस तेस्रो साताभित्र अन्य बाली लगाइ सक्नुपर्ने समयको दबाबमा अहिले आफूहरु रहेको गिरीको भनाइ छ ।
पुस तेस्रो साताभित्र अर्को बाली नलागे असारसम्म पर्खन पर्ने किसानको भनाइ छ । “अहिले बाली लगाउन नपाए खेतबारी रुखिन्छ, अनि जेठ/असारमा पर्ने पानी पर्खन पर्ने हुन्छ”, बर्दिबास-९ पशुपनिगरका किसान रामविनोद महतोले भने, “यसैले अहिले खुट्टी उखु काट्ने हतारो परेको हो ।”
उखु किसान र यिनका प्रतिनिधिसंस्था उखु उत्पादक कृषक संघ, उखु उत्पादक किसान महासंघले प्रत्येक वर्ष उखुको मूल्य निर्धारण कात्तिक मसान्तभित्र गरी सक्नुपर्ने र मङ्सिर दोस्रो साताभित्रै खुट्टी उखुको क्रसिङ खोल्नुपर्ने माग राख्दै आएका छन् । सरकारले सधैँ जसो किसानलाई मूल्य मान्न बाध्य हुने बेला पारेर मूल्य निर्धारण गर्ने गरेको बर्दिबास–१२ बिजलपुराका किसान विश्वनाथ सिंह बताउछन् ।
“सरकारले यसपालि उखुको मूल्य प्रतिक्विन्टल रु ३५ बढ्यो । अनुदान रु ७० दिने घोषणा गर्यो”, उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष कुशवाहा भन्छन्, “गत वर्षभन्दा यो निकै राम्रो हो ।” गतवर्ष उखुको मूल्य रु ५८५ प्रतिक्विन्टल र अनुदान सरकारले रु ३५ मात्र दिएको थियो ।
जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अझै सञ्चालनको सुरसारमा नहुँदा खुट्टी उखु काट्ने बेला घर्किन लागेको किसानको चिन्ता छ । उद्योगले अब मूल्य निर्धारणको पाटो टुङ्गिएको हुँदा चाँडै क्रसिङ थाल्ने तयारी गरिएको जनाएको छ । यसपालि क्रसिङ खोल्नुअघिको डोला पूजा (उपकरण पूजा) यही मङ्सिरभित्रै सम्पन्न गरेर पुस पहिलो साता क्रसिङ खोल्ने तयारी रहेको उद्योगले जनाएको छ । गत वर्ष मङ्सिर २६ गते नै उखु क्रसिङ थालेको उद्योगले यसपालि भने ढिलो गरेको छ ।
जिल्लामा यसपालि नौ हजार ६०० बिघामा उखु खेती गरिएको छ । जसमध्ये पाँच हजार बिघाको खुट्टी र चार हजार ६०० बिघाको मुडन रहेको उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष कुशवाहा बताउछन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













