12/12/2025, 14:50:24
शुक्रबार, मङि्सर २६, २०८२

मोबाइल र साइकल सहयोग पाएपछि भलमन्सा र चौकिदारलाई काम गर्न सजिलो


घोडाघोडी (कैलाली) मङ्सिर २६ : थारु समुदायमा गाउँघरमा आईपर्ने साना तिना समस्या समाधानका लागि होस या सामूहिक कार्यका लागि बडघर(भलमन्सा) को भूमिकालाई महत्त्वपूर्ण मानिन्छ । पछिल्लो समय स्थानीय सरकारले भलमन्सा र चिराकीको भूमिकालाई सहज र प्रभावकारी बनाउन विभिन्न तालिम तथा सहयोगी सामग्री प्रदान गर्न थालेपछि उनीहरुलाइ अझै सहज भएको छ ।

स्थानीय सरकारको सहयोगले कार्यव्यवस्थापनमा सहजता भएको अनुभव चिराकी तथा भलमन्साको छ । लम्कीचुहा नगरपालिकाले हालै चिराकीका लागि ५० वटा साइकल र भलमन्साका लागि ४८ वटा स्मार्ट फोन सहयोग गर्यो । लम्कीचुहाका भलभन्साहरुले स्मार्ट मोबाइल फोन सहयोग पाएपछि खुशी हुँदै खबर आदान प्रदानमा सहज हुने बताए ।

फोन सम्पर्कका लागि सामान्य मोबाइल भए पनि इन्टरनेटबाट चल्ने नभएको अवस्थामा स्मार्ट फोन पाएपछि नगरभरीका भलमन्साहरु समुह कलमा जोडिएर आफ्नो गाउँ ठाउँको विकासमा छलफल गर्न सजिलो हुने भलमन्साहरुले सुनाए ।

गाउँ समाजमा आफ्नो रितितिथि बसाल्ने, सामाजिक र विकास निर्माणको कार्यका लागि भलमन्साको भूमिका हुन्छ । भलमन्साले कुनै कामकाजका लागि खबर पुर्याउन चिराकी राखेपनि हिँडेरै गाउँभरी सूचना पुर्याउनु पर्ने हुन्छ । दुबैका माग बमोजिम कार्य भूमिकालाई सहज, छिटो छरितो बनाउन मोबाइल र साइकल वितरण गरिएको नगरप्रमुख शुसिला शाहीले बताउनुभयो ।

उहाँले सात लाख २५ हजार रुपियाँ बराबरको ४८ वटा मोबाइल र तीन लाख ६० हजार रुपियाँ बराबरको ५० वटा साइकल कार्यपालिकाबाट पास गरेर दिने निर्णय बमोजिम सहयोग प्रदान गरिएको जानकारी दिनुभयो ।

लम्कीचुहाले जस्तै घोडाघोडी नगरपालिकाले समेत भलमन्सा र चिराकीलाई साइकल सहयोग गर्नुका साथै मेलमिलापसम्बन्धी तालिम समेत दिएको छ । आर्थिक वर्ष २०८१/०८२ मा विभिन्न वडाले आवश्यकताका आधारमा साइकल सहयोग गरेको जनाइएको छ । घोडाघोडी नगरपालिका १ बेलार गाउँका चिराकी गंगाराम चौधरीले वडाबाट साइकल पाएपछि सूचना पुर्याउन सजिलो भएको बताउनुभयो ।

उहाँले खुशी हुदै भन्नुभयो, “पहिला त हिडेर गाउँभरी डुल्नु पर्यो । साईकल पाएपछि सजिलो भएको छ । साइकल चलाएर नै घरघर खबर पुर्याउन जान्छु । आज बिहानपनि गाई गोरुलाई खोरेतको सुई लगाउनका लागि सबैलाई खबर गरेर आए । डेढसय घरमा खबर पुर्याउनु पर्छ ।

साइकल पाएपछि गंगाराम जस्तै अन्य चिराकीलाई पनि सजिलो भएको छ । घोडाघोडी नगर भलमन्सा समितिका अध्यक्ष बुधराम चौधरीले स्थानीय तहले भलमन्साहरुका लागि मेलमिलापसम्बन्धी तालिम दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आफ्नो समुदायमा आफ्नै तरिकाले सानो तिनो मुद्दाको छिनोफानो गर्ने भए पनि मेलमिलाप तालिमले समाजमा आइपर्ने विभिन्न समस्या समाधानकालागि थप सहयोग पुगेको छ ।

घोडाघोडी नगरपालिकामा ७६ वटा थारु गाउँमा ७६ जना भलमन्सा र चिराकीले परम्परागत बड्घर प्रथालाई निरन्तरता दिइरहेका छन् ।

घोडाघोडी नगरपालिका विभिन्न वडाले चारलाख ५० हजार रुपियाँ बराबरको साइकल चिराकी र भलमन्सालाई सहयोग गरेको घोडाघोडी नगरपालिका लेखा शाखाले जनाएको छ ।  बर्दगोरिया, गौरिगंगा, जोशीपुर लगायत स्थानीय तहले पनि चिराकी र भलमन्साको भूमिकालाई सहज बनाउन तालिमलगायतका सहयोग गरेको जनाइएको छ ।

– चाँदनी आचार्य