जनकपुरधाम, मङ्सिर १७ : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेका छन् । बुधबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गरेका हुन् ।
दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई शुक्रबार अपराह्न ५ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरिएको पत्रमा उल्लेख गरिएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश प्रमुखलाई राजीनामा बुझाएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
यादव नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएकोमा उक्त नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि सर्वोच्चले परमादेश जारी गर्दै २४ घण्टाभित्र मुख्यमन्त्रीलाई विश्वासको मत लिन र लिन नसके संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्न आदेश दिएको थियो ।
नयाँ सरकार गठनका लागि सात दल बैठक बस्ने तयारी भइरहेका छन् । कांग्रेस, जसपा, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले मिलेर सरकार बनाउन तयारी थालेको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले कांग्रेसको नेतृत्वमा सरकार बनाउन यी दलहरू सकारात्मक रहेको बताएका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










