खजुरा, मङ्सिर २४ : २०६० मङ्सिर २३ गते साँझ सदाझैँ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का भूपेन्द्रराज उप्रेती धम्बोझीमा रहेको आफ्नो हार्डवेयर पसलमा काम गर्दै हुनुहुन्थ्यो । पसल अगाडि केही अपरिचित व्यक्ति आएर उहाँलाई बाहिर आउन अनुरोध गरे । भुपेन्द्र पसलबाहिर आउनुभयो । उनीहरुले भुपेन्द्रसहित अर्का एक व्यक्तिलाई ‘केही काम छ’, ‘सोधपुछ गर्नु छ’ भनेर लगेर गए ।
भूपेन्द्रलाई त्यसरी लैजाने व्यक्तिहरुले हालसम्म पनि न त फिर्ता ल्याइदिए, न त उहाँको अवस्थाको बारेमा जानकारी नै दिए । २२ वर्ष पुगेर २३ वर्ष लाग्दासमेत घरपरिवारले भुपेन्द्रको आशा गर्दै कष्ट र पीडादायक दिनहरु बिताइरहेका छन् ।
“मेरो श्रीमान्लाई २०६० मङ्सिर २३ गते साँझ धम्बोझीमा रहेको हार्डवेयर पसलबाटै केही व्यक्ति आएर अपहरण गरेर आँखामा पट्टी बाँधेर लगे, उहाँसँगै गाडी चालक सुनिल क्षेत्रीलाई पनि लगेका रहेछन्, पछि सोधखोज गर्दा इमामनगर आर्मी ब्यारेक राँझाबाट तत्कालीन साही सेना आएर लगेको थाहा पाएँ, दुई तीन दिनपछि म सोधपुछका लागि ब्यारेक पुगेँ ।” बेपत्ता भूपेन्द्रकी श्रीमती चन्द्रकला उप्रेतीले भन्नुभयो, “त्यहाँ आर्मीको मेजरसँग कुरा भयो, उहाँले ल्याएकै छैन भनेर भन्नुभयो, केही जानकारी दिनुभएन, त्यहाँ फोन र ठेगाना टिपाएर फर्के ।”
“मेरो श्रीमान्लाई बेपत्ता बनाएको १७ दिनपछि सँगै लगिएका गाडी चालक सुनिल क्षेत्री आउनुभयो, उहाँले तपाईँको श्रीमान् पनि त्यहीँ हुनुहुन्छ भनेर खबर दिनुभयो, त्यसपछि फेरी ब्यारेक पुगेँ तर सेनाले हामीले ल्याएकै छैनौँ भने, पछि थाहा भयो उहाँलाई त्यहाँबाट अज्ञातस्थलतर्फ लगिएको छ भनेर ।” चन्द्रकलाले गहभरि आँसु पार्दै भन्नुभयो, “आज २३ वर्ष पुगिसक्यो, न लाश छ, न सास छ, न त अवस्थाका बारेमा जानकारी नै छ, मङ्सिर २३ गते जीवनमा कहिल्यै नआए हुन्थ्यो जस्तो लाग्छ, पीडा दिन्छ, मन थाम्न गाह्रो बनाउँछ ।” लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सधैँ यही समयमा पर्नाले पनि झनै आफूमा पीडा हुने गरेको उहाँको भनाइ छ ।
“घरको मूली मान्छे नहुँदा कस्तो पीडा हुन्छ, त्यो त भोग्नेलाई मात्र थाहा छ, त्यो समयमा बच्चाबच्ची सानै थिए, जेठो छोरा ८ वर्ष, छोरी ६ वर्ष र सानो छोरा ५ वर्षका थिए, उहाँलाई बेपत्ता पारिएपछि पसल पनि बन्द भयो, उनीहरुको शिक्षादीक्षाभन्दा पनि लालनपालन कसरी गर्ने भन्ने चिन्ता थियो, कसरी उनीहरुको पेट भर्ने नै भन्ने हुन्थ्यो ।” दुखी मुद्रामा चन्द्रकलाले भन्नुभयो, “केही सीप नलागेपछि चाउमिन बनाउने तालिम लिएँ, तालिमपश्चात् चाउमिन बेच्न थालेँ, विस्तारै अवस्था सुध्रिन थाल्यो, अहिले त छोराछोरी पनि ठूला भइसके आआफ्नो काममा छन् ।”
“हालसम्म पनि राज्य पक्षबाट उहाँको अवस्था थाहा नदिनु, कुनै सोधपुछ नहुनु, कुनै पनि सहयोग नहुनुले हामीलाई झनै पीडा दिएको छ, त्यतिबेला आइसीआरसी, साथी संस्था तथा राष्ट्रिय मानव अधिकरा आयोगको कार्यालय जताकतै निवेदन दिएँ तर अझैसम्म पनि सुनुवाइ भएन, तर आशा कहिल्यै नमर्दो रहेछ ।” उहाँले पीडा पोख्नुभयो ।
बेपत्ता पारिएको २१ वर्ष पुग्दासमेत श्रीमानको केही अत्तोपत्तो थाहा नलागेपछि हिम्मतका साथ दुई वर्षअघि कुशको शव बनाएर काठमाडौँस्थित आर्यघाटमा श्रीमानको धार्मिक विधिअनुसार दाहसंस्कार गरिएको उहाँले सुनाउनुभयो । “सरकारले न त मृत्यु भएको प्रमाण दिन्छ, न त जीउँदो अवस्थाकै बारेमा जानकारी दिन्छ, कानुनअनुसार मृत्युदर्तासमेत पाउन सकिएको छैन ।” उहाँले भन्नुभयो ।
“२१ वर्षसम्म कुरेर बसियो, सम्बन्धित सबै सरोकारवालको ढोका ढक्ढक्याइयो, दुःख पीडा सुनाइयो, तर कतैबाट सम्बोधन गरिएन र दुई वर्षअघि धार्मिक परम्पराअनुसार पशुपति आर्यघाटमा कुशको शव बनाएर अन्तिम दाहसंस्कार ग¥यौँ ।” चन्द्रकलाले भन्नुभयो, “तर पनि राज्यले अझैसम्म अवस्थाका बारेमा कुनै जानकारी नगराएको हुँदा, कतैबाट आइहाल्नुहुन्छ कि ? भनेर आशा लाग्छ, सपनामा आइरहनुहुन्छ, मजस्ता कैयौँ न्याय नपाएका बेपत्ता परिवारका पीडितहरुका आफ्ना मान्छेको अवस्था तत्काल सार्वजनिक गरियोस् ।”
चन्द्रकलाले आफ्नो श्रीमानलाई बेपत्ता पारिएको स्थान नेपालगन्जस्थित धम्बोझी चोकलाई श्रीमानको नामबाट नामाकरण गर्न राज्यसँग माग गर्नुभएको छ । उहाँले हरेक मङ्सिर २३ गते बेलुका धम्बोझी चोकमा श्रीमान्को सम्झनामा दीप प्रज्वलनसमेत गर्दै आउनुभएको छ । चन्द्रकला हाल द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालको केन्द्रीय सचिवसमेत हुनुहुन्छ । उहाँले आफूजस्ता पीडित बनेका व्यक्तिहरुको नेतृत्व गर्दै आवाज उठाइरहनुभएको छ ।
– गजेन्द्र गुरुङ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









