12/08/2025, 12:45:11
सोमबार, मङि्सर २२, २०८२

मायाप्रेम र धोखा प्रेमकथाको चलचित्र ‘तेरे इश्क मे’


काठमाडौँ, मङ्सिर २२ : मायाप्रेम र धोखा अहिले प्रायः चलचित्रमा देखिने कथावस्तु हुन् । चलचित्र ‘तेरे इश्क मे’ पनि पीडा, प्रेम र क्रोधलाई मिसाइएको प्रेमकथा हो ।

चलचित्रका दुई प्रमुख पात्र शङ्कर गुरुक्कल (धनुष) र मुक्ति (कृति सेनन्) को प्रेम सम्बन्ध कता मोडिन्छ भन्ने कौतूहलमै यो चलचित्र बगेको छ । चलचित्रको कथा शङ्करको वरिपरि घुम्छ, जो दिल्ली विश्वविद्यालय विद्यार्थी सङ्घका अध्यक्ष हुन् । कलेजमा उनी रिसाहा र हिंस्रक मनोवृत्तिका लागि चर्चित छन् । मुक्ति एक अनुसन्धानकी विद्यार्थी हुन् । उनी हिंस्रक स्वभाव भएका व्यक्ति पनि परिवर्तित हुन सक्छ भन्ने कुरा प्रमाणित गर्न चाहन्छिन् । मुक्तिले आफ्नो थेसिसको विषय नै ‘हिंसालाई प्रेमको स्पर्शले शान्तिमा बदल्न सकिन्छ’ भन्ने हुन्छ ।

शङ्कर र मुक्तिको भेट कक्षाकोठमा हिंसाकै समयमा हुन्छ । शङ्करले कसैमाथि हिंसा गरेका बेला मुक्तिले उनलाई रोक्न खोज्छिन् र सोही उनको एक स्पर्शले शङ्करलाई शान्त बनाउने काम गर्छ । मुक्तिलाई पनि थेसिस पूरा गर्न ‘केस स्टडी’ का रूपमा शङ्कर उपयुक्त पात्र लाग्छ । उनले शङ्करलाई यसमा सहयोग गर्न आग्रह गर्छिन् । शङ्करले मुक्तिलाई आफ्नो मनभित्र बसाइसकेको हुन्छ । जब थेसिस पूरा हुन्छ मुक्ति आफ्नो बाटो लाग्छिन् । यहीँबाट चलचित्रमा अनेकन ट्विस्ट आउन थाल्छ ।

blog

धनुष दक्षिणका चर्चित अभिनेता हुनुहुन्छ । चलचित्र धनुषमा नै टिकेको छ । उहाँको हाउभाउदेखि लिएर आँखामा पीडा र क्रोधलाई अवश्य नै दर्शक प्रभावित हुन्छन् । कृतिले इमानदारीपूर्वक आफ्नो काम गर्नुभएको छ । उहाँको अभिनयले चलचित्रभित्र एउटा नयाँ रङ भर्ने काम गरेको छ । चलचित्रमा जिसान र धनुषबिचमा एउटा दृश्य छ जुन सिधा मनमा गडिन्छ । दुवैलाई चलचित्रमा देख्दा ‘राँझना’ को सम्झना आउँछ । सानै भूमिकामा भएर पनि प्रकाशराज जम्नुभएको छ ।

आनन्द एल रायले चलचित्रलाई निकै संयमित शैलीमा आफ्नो निर्देशकीय क्षमता प्रस्तुत गर्नुभएको छ । जहाँ हरेक दृश्यमा विशेष भावनात्मक गहिराइ देखिन्छ । मुक्तिले शङ्करलाई आफ्नो विषय बनाउने, धनुष र उहाँका बुवाको सम्बन्ध, धनुष रिसाउने जस्ता धेरै दृश्य उत्कृष्ट रूपमा खिचिएका छन् । भावुक प्रेमकथा हेर्नका लागि चलचित्र एकदमै उपयुक्त छ । अघिल्लो चलचित्र ‘राँझना’ रुचाउने दर्शकले अवश्य चलचित्र मन पराउँछन् । जिसान अयुव र धनुष जब एकसाथ आउँछन्, उनीहरूबिचको संवाद र मित्रताले पक्कै दर्शकलाई बनारसका सडकको सम्झना गराउँछ । जिसानको छोटो भूमिकाले पनि चलचित्रलाई माथि उठाउने काम गरेको छ ।

– सुकृत नेपाल