12/04/2025, 14:49:59
बिहिबार, मङि्सर १८, २०८२

एमाले महाधिवेशन तयारी तीव्र


ललितपुर, मङ्सिर १८ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले मङ्सिर २७ देखि २९ गतेसम्म गर्ने ११ औँ राष्ट्रिय महाधिवेशनको तयारी तीव्र गतिमा अघि बढाएको छ । महाधिवेशन तयारीका विषयमा छलफल गर्न बुधबार व्यवस्थापन समिति सचिवालयको बैठक च्यासलस्थित पार्टी कार्यालयमा बस्यो । बैठकमा महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, सचिवहरू, सङ्गठन विभागका प्रमुखसहित विभागीय प्रमुख, स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य तथा व्यवस्थापन समिति सचिवालयमा रहेका नेताको सहभागिता थियो ।

बैठकपछि उपमहासचिव ज्ञवालीले महाधिवेशनका सबै तयारी उत्साहजनक रूपमा अगाडि बढिरहेको उल्लेख गर्नुभयो । पार्टीका सबै संयन्त्र महाधिवेशन तयारीमा जुटेका उहाँले बताउनुभयो । पार्टी सङ्गठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार प्रतिनिधि छनोटको काम करिब सकिएको छ । अधिकांश जिल्लाबाट प्राप्त प्रतिनिधि सूची अब अन्तिम टुङ्ग्याउने क्रममा छ । केही स्थानमा देखिएका विवाद समाधान भएपछि प्रतिनिधि सूची पूर्ण रूपमा केही दिनमै टुङ्गो लाग्ने छ । एमालेको ११ औँ महाधिवेशनमा दुई हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने प्रारम्भिक अनुमान गरिएको छ ।

देशभरका प्रदेश, जिल्ला, जनसङ्गठन तथा मोर्चा सङ्गठनबाट चयन हुने प्रतिनिधिले नेतृत्वसम्बन्धी महत्वपूर्ण निर्णयमा सहभागी हुने छन् ।महाधिवेशनको  उद्घाटन मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने कार्यक्रम छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । सो सभा अहिलेसम्मकै ऐतिहासिक हुने एमालेले दाबी गरेको छ ।

एमालेमा एकता छ : पौडेल 

एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको ११ औँ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने बताउनुभयो ।  बुधबार प्रेस चौतारी नेपालले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले तपाईंहरूलाई यो ध्रुव मङ्सिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ? प्रतिप्रश्न गर्नुभयो । एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको उहाँले स्पष्ट पार्नुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..