11/04/2025, 19:01:59
मङ्गलबार, कार्तिक १९, २०८२

पाङबारी हिमाल चढ्न गएका दुई आरोहीको शव फेला


गोरखा, कात्तिक १८  गते । गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ ।

पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय  स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुवै जनाको शव  हिउँले पुरिएको अवस्थामा फेला परेको उहाँले बताउनुभयो ।

आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ । पाङबारीे हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए । फरिनातो र गापुटो  हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ ।

उनीहरुसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो । उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौँ पठाइएको उहाँले बताउनुभयो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..