काठमाडौँ, असोज ३१ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको १५औँ महाधिवेशन मङ्सिरमै सम्पन्न गर्नुपर्ने प्रस्ताव गर्नुभएको छ ।
कांग्रेसभित्रको भविष्यका दिशाबारे विचार राख्दै डा. कोइरालाले २०८२ मङ्सिर महिनाभित्रै १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने प्रस्ताव गर्नुभयो। उहाँले महाधिवेशनलाई “कांग्रेसभित्र ताजापन र उर्जा भर्ने प्रक्रिया”का रूपमा व्याख्या गर्दै नियमित अधिवेशनमार्फत पार्टीलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “विशेष महाधिवेशन होइन, नियमित महाधिवेशनले मात्र कांग्रेसलाई पुनर्जीवित गर्न सक्छ। आगामी मङ्सिरमै महाधिवेशन हुने कार्यतालिका ल्याउने महामन्त्रीज्यूको प्रस्तावमा मेरो पूर्ण समर्थन रहनेछ।”
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बिहीबारको पार्टी केन्द्रीय कार्यालय सानेपामा धारणा राख्दै उहाँले भाद्र २३ गते राज्यबाट भएको अत्यधिक बल प्रयोगका कारण देशले होनहार युवा गुमाउनुपरेको उल्लेख गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गर्नुभयो। उहाँले जेन-जी आन्दोलनका क्रममा मारिएका र घाइते भएका युवाप्रति गहिरो श्रद्धाञ्जली र संवेदना व्यक्त गर्दै राज्यद्वारा न्याय सुनिश्चित गर्न आग्रह गर्नुभएको छ।
डा. कोइरालाले भन्नुभयो, “जेन-जी आन्दोलनका क्रममा सुरक्षाकर्मी र युवाहरू दुबै पक्षका मानिसले ज्यान गुमाए। ती सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै राज्यले मानवीय संवेदना र उपचारमा ध्यान पुर्याओस् भन्ने मेरो आग्रह छ।”
उहाँले हालको राजनीतिक परिस्थिति र संविधानको अवस्थाबारे पनि विस्तृत टिप्पणी गर्दै सात दशकको सङ्घर्षपछि बनेको संविधान अहिले अर्धमूर्छित अवस्थामा पुगेको बताउनुभयो। उहाँका अनुसार, “संविधानको रक्षार्थ हामी कहाँ उभिन्छौँ, यहीँबाट भावी राजनीतिक दिशा तय हुनेछ।”
निर्वाचन तयारीमा सरकार सक्रिय हुनुपर्ने
डा. कोइरालाले आगामी फागुन २१ गते हुने आम निर्वाचनलाई सफल बनाउन सरकारले भयरहित र निष्पक्ष वातावरण सुनिश्चित गर्नुपर्ने बताउनुभयो। उहाँले आन्दोलनका क्रममा लुटिएका हतियार नियन्त्रणमा ल्याउने र जेलबाट भागेका अपराधीहरूलाई कानुनको कठघरामा ल्याउन ढिलाइ नगर्न सरकारलाई सुझाव दिनुभयो। उहाँका अनुसार, “त्रासमा बसेको समाजले स्वतन्त्र रूपमा मतदान गर्न सक्दैन, त्यसैले सरकारको प्रमुख दायित्व निर्वाचनमैत्री वातावरण बनाउनु हो।”
अनुशासन कारबाही फिर्ता र पार्टी एकताको आग्रह
उहाँले पार्टीभित्र एकताको खाँचो रहेको उल्लेख गर्दै अघिल्ला विवादका कारण अनुशासन समितिबाट कारबाही सिफारिस भएका नेता कार्यकर्ता माथिको कारबाही फिर्ता गर्न माग गर्नुभयो। उहाँका अनुसार, “देशको साझा भविष्य निर्माण गर्न सबै कार्यकर्तालाई कांग्रेसको मूलधारमा ल्याउन आवश्यक छ।”
डा. कोइरालाले कांग्रेसभित्रको एकता पारदर्शी निर्णय प्रक्रियाद्वारा मात्र सम्भव हुने उल्लेख गर्दै आपसी अविश्वास अन्त्य गर्न आग्रह गर्नुभयो। उहाँले थप्नुभयो, “एकतामा नै बल छ भन्ने मुलमन्त्र हामीलाई बिपी कोइरालाले दिएका हुन्। आज फेरि त्यही आत्मा जागृत गर्नुपर्ने बेला आएको छ।”
कांग्रेसलाई नयाँ दिशा दिनुपर्ने
उहाँले नेपाली कांग्रेसलाई “नयाँ सम्भावनाको पार्टी” बनाउने आवश्यकता औंल्याउँदै पार्टीले आफ्नो चरित्र, आचरण र नीति–नियममा समयसापेक्ष सुधार गर्नुपर्ने बताउनुभयो। “लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो, यही कांग्रेसको जीवन पद्धति र नेपाली जनताको संस्कृतिको सार हो,” उहाँको भनाइ थियो।
बैठकमा उहाँले कांग्रेसलाई एकताबद्ध, नैतिक बल सम्पन्न र भविष्यमुखी पार्टीका रूपमा स्थापित गर्न सबैलाई आ–आफ्नो जिम्मेवारी पूरा गर्न आह्वान गर्नुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










