10/16/2025, 21:50:43
बिहिबार, असोज ३०, २०८२

दल विभाजन रोक्न अन्तरिम आदेश माग गर्दै सीके राउत पुगे सर्वोच्च


काठमाडौँ, असोज ३० : जनमत पार्टी विभाजन गर्ने अर्को पक्षको तयारी अवैधानिक भएकाले दल दर्ता रोक्नुपर्ने माग गर्दै अध्यक्ष सीके राउत सर्वोच्च अदालत पुगेका छन् । राउतले बिहीबार सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

बिहीबार दर्ता भएको रिटको पहिलो पेशी शुक्रबार तोकिएको छ । राउतले रिटमा अलग्गै दल दर्ता गराउन दिएको निवेदन अघि नबढाउनु भनी अन्तरिम आदेश जारी गर्न माग गरेका छन् । राउतले निर्वाचन आयोगसमेतलाई विपक्षी बनाएका छन् । रिटमा दल विभाजनको वैधानिक आधार नभएको र आयोगले दर्ता गराउन सक्ने भएकाले पहिलो सुनुवाइमै अन्तरिम आदेश जारी हुनुपर्ने माग गरिएको छ ।

राउत नेतृत्वको जनमत पार्टी विभाजित भएर एउटा पक्षले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । उपाध्यक्ष दीपक साहको नेतृत्वमा करिब २० प्रतिशत केन्द्रीय कार्यकारिणी सदस्यले निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुले आइतबार निर्वाचन अयोगमा पुगेर जनस्वराज नामको पार्टी दर्ता गर्न निवेदन दिए पनि सनाखत हुन भने बाँकी छ ।

उपाध्यक्ष अब्दुल खान यसअघि नै जनमत पार्टीबाट अलग भएका थिए । जनमत पार्टीमा ५२ जना केन्द्रीय कार्यकारिणी सदस्य छन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनमतले ६ सिट जितेको थियो । राष्ट्रिय पार्टी बनेको जनमतले मधेश प्रदेश सरकारको नेतृत्व समेत गरिरहेको छ ।