11/17/2025, 17:24:11
सोमबार, मङि्सर ०१, २०८२

ट्राफिक व्यवस्थापन : २५ सय ट्राफिक कोन र १२५० रिर्ट्याक्टेबल बार राख्न सुरु


काठमाडौँ, असोज ९ : काठमाडौँ महानगरपालिकाको शहरी व्यवस्थापन विभाग अन्तर्गत यातायात तथा सडक सुरक्षा स्वर्णम योजनाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि अन्तर्राष्ट्रिय गुणस्तर अनुसारका ट्राफिक कोन र रिर्ट्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ ।

यी सामग्रीहरु नेपालमा नै उत्पादन भएका हुन् । आर्थिक वर्ष २०८०/८१ मा नै यी सामग्रीहरू खरिद गर्ने योजना भए तापनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१/८२ मा खरिद गरिएको हो । जसले ट्राफिक व्यावस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

सहरी योजना आयोगका सहायक विज्ञ (ट्राफिक तथा यातायात इन्जिनियरिङ) अनुकूल निधिका अनुसार, ट्राफिक कोनको उचाइ नौ सयदेखि एक हजार मिलिमिटरसम्मको छ । पहिले पहिले सडकमा राखिने कोनभन्दा अहिलेको कोनको आकार ठुलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको छ । यी कोनहरू तल प्वालरहित र तीनदेखि पाँच केजी तौलका छन् । यसले बाइक चालकहरूले कोन हटाउने प्रवृत्तिलाई पनि निरुत्साहित गर्ने निधिले बताउनुभयो ।

‘‘यी कोनहरू राति पनि स्पष्ट देखिन्छन् । एक सेटमा दुई ट्राफिक कोन र एउटा दुई मिटर लामो टेलिस्कोपिक रिर्ट्याक्टेबल बार (जसले दुई कोनलाई जोड्छ) राखिएको छ । यसरी एक हजार २५० सेट खरिद भएका छन्, जसमा कुल २५ सय कोन र एक हजार २५० बार छन् ।’’ निधिले थप्नुभयो, ‘‘यी सामग्रीहरू काठमाडौँका मुख्य सडक खण्डहरूमा च्यानलाइजेसनको कमी र दक्षिण एसियाली ड्राइभिङ व्यवहार (खाली ठाउँमा तरल पदार्थजस्तै गाडी चढ्ने प्रवृत्ति) लाई सम्बोधन गर्न सक्नेछ ।’’

ट्राफिक इन्जिनियरिङका सिद्धान्तअनुसार, सडक चौडा नगरी च्यानलाइजेसन नै ट्राफिक व्यवस्थापनको आधार हो । सहायक विज्ञ निधिका अनुसार पहिलो चरणमा बुधबार यी कोनहरू तीन स्थानमा प्रयोग गरियोः सिंहदरबारदेखि भद्रकाली, सिंहदरबारदेखि माइतीघर र पद्मोदय मोड । विशेषगरी भद्रकालीबाट सिंहदरबारतिरको क्षेत्रमा लस्कर आकारमा कोन राख्दा विपरीत दिशाबाट आउने सवारीको चापलाई न्यूनीकरण गर्नेछ । जसले सहजै बायाँ तर्फ मोडिने सवारीले (माइतीघरदेखि भद्रकाली तर्फ) लेन निर्बाध रूपमा प्रयोग गर्न सक्ने छन् । जसले दुर्घटना र ट्राफिक जामको समस्या घटाउने छ ।

कोन राख्ने काम काठमाडौँ महानगरपालिका, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टिमसँगको सहकार्यमा सम्पन्न गरेको हो ।

‘‘ट्राफिक व्यवस्थापन साझा समस्या र समाधान हो । सहकार्य नै यसको आधार हो ।,’’ सहायक विज्ञ निधिले थप्नुभयो, ‘‘यी कोनहरूको ब्याचवाइज प्रयोग गरी सरसफाइ गरेर पुनः प्रयोग गर्न सकिन्छ ।’’

सडक प्रयोगकर्तादेखि व्यवस्थापन गर्ने निकायहरु हुँदै ट्राफिक प्रहरीसम्म सबैको भूमिका र सहकार्य नै यसको आधार हो । ट्राफिक व्यवस्थापन गर्न ‘डेटा–आधारित’ वैज्ञानिक दृष्टिकोण, आधुनिक प्रविधि र स्थलगत व्यावहारिक व्यवस्थापन प्रविधिको भूमिका अनिवार्य भएको निधिले बताउनुभयो ।